बीमा कम्पनीलाई कर्मचारीको ओभरटाइम भत्ता र सट्टा बिदा दिन प्राधिकरणको निर्देशन

Headlines बैंक/वित्त

नियमित कार्यालय समय र सार्वजनिक बिदामा अतिरिक्त काम गराउँदा सुविधा नदिएको गुनासो, १२ हजारभन्दा बढी कर्मचारी प्रभावित हुन सक्ने

काठमाडौं । बीमा कम्पनीहरूले कर्मचारीलाई नियमित कार्यालय समयभन्दा बढी तथा सार्वजनिक र साप्ताहिक बिदाका दिन काममा लगाउँदा अतिरिक्त पारिश्रमिक र सट्टा बिदा दिनुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले कर्मचारीलाई ओभरटाइम काममा लगाएबापत प्रचलित श्रम ऐन तथा नियमावलीअनुसार सुविधा उपलब्ध गराउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

बीमा कम्पनीहरूले कर्मचारीलाई अतिरिक्त तलब तथा सेवा सुविधा नदिई नियमित कार्यालय समयभन्दा बढी काममा लगाउने गरेको गुनासो प्राधिकरणमा पुगेपछि यस्तो निर्देशन दिइएको हो।

प्राधिकरणका अनुसार व्यावसायिक आवश्यकताका नाममा कर्मचारीलाई सार्वजनिक तथा साप्ताहिक बिदाका दिन र नियमित कार्यालय समयभन्दा बढी काममा लगाउने गरिएको गुनासो प्राप्त भएका छन्। त्यसपछि प्राधिकरणले गत कात्तिक १७ गतेको निर्णयअनुसार कम्पनीहरूलाई पत्राचार गरेको हो।

प्राधिकरणले पठाएको पत्रमा कर्मचारीलाई सार्वजनिक वा साप्ताहिक बिदाका दिन अथवा नियमित कार्यालय समयभन्दा बढी काममा लगाउनुपर्ने भए प्रचलित श्रम ऐन तथा नियमावलीबमोजिम सट्टा बिदा वा अतिरिक्त पारिश्रमिकको व्यवस्था मिलाउन भनिएको छ।

हाल नेपालमा १४ जीवन बीमा, १४ निर्जीवन बीमा, सात लघु बीमा र दुई पुनर्बीमा कम्पनी सञ्चालनमा छन्। नेपाल बीमा प्राधिकरणको २०८३ असार मसान्तसम्मको तथ्यांकअनुसार यी कम्पनीमा कुल १२ हजार ४०५ कर्मचारी कार्यरत छन्।

वार्षिक अर्बौं रुपैयाँको कारोबार गर्ने बीमा कम्पनीहरूमा कर्मचारीको अतिरिक्त कामको पारिश्रमिक र सेवा सुविधाको विषय नियामक निकायसम्म पुगेपछि प्राधिकरणले यसमा चासो देखाएको हो।