सेबोनको नयाँ नीतिले पुँजी बजारको तथ्यांक नेपालमै राख्नुपर्ने व्यवस्था

बैंक/वित्त

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारसँग सम्बन्धित तथ्यांक नेपालभित्रै भण्डारण गर्नुपर्ने व्यवस्था गरेको छ । बजारको कारोबार वा प्रणालीमा असर पार्ने गम्भीर साइबर घटना भएमा सम्बन्धित संस्थाले सोही दिन र अन्य महत्त्वपूर्ण घटना ७२ घण्टाभित्र बोर्डलाई जानकारी दिनुपर्नेछ ।

बोर्डले सूचना प्रविधि नीति, २०८३ लागू गर्दै नेप्से, सीडीएससी, क्लियरिङ हाउस, धितोपत्र दलाल तथा मर्चेन्ट बैंकरलगायत बजारका संस्थाका लागि साइबर सुरक्षा, प्रणाली परीक्षण र तथ्यांक संरक्षणसम्बन्धी मापदण्ड तोकेको हो ।

नीतिअनुसार बजार पूर्वाधार संस्थाले आईएसओ २७००१ मा आधारित सूचना सुरक्षा प्रणाली लागू गर्नुपर्नेछ । नेप्से र सीडीएससीले हरेक वर्ष तथा अन्य संस्थाले दुई वर्षमा एकपटक सूचना प्रविधि प्रणालीको लेखापरीक्षण गराउनुपर्नेछ । गम्भीर कमजोरी भेटिए ३० दिनभित्र सुधार गर्नुपर्नेछ ।

त्यस्तै, मुख्य डेटा केन्द्रभन्दा कम्तीमा २५ किलोमिटर टाढा विपद् पुनरुत्थान केन्द्र स्थापना गर्नुपर्ने र तथ्यांकको सुरक्षित ब्याकअप राख्नुपर्ने व्यवस्था गरिएको छ । संवेदनशील प्रणालीमा बहुस्तरीय प्रमाणीकरण र नियामकीय कागजातमा डिजिटल हस्ताक्षर प्रयोगलाई पनि प्राथमिकता दिइएको छ ।

नीतिले कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, ब्लकचेन र बिग डेटा एनालिटिक्सजस्ता प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ । एल्गोरिदमिक कारोबार सञ्चालन गर्नुअघि सम्बन्धित बजार सञ्चालकको स्वीकृति लिनुपर्नेछ भने एआईबाट हुने निर्णयमा मानवीय निगरानी र निर्णयको आधार व्याख्या गर्न सकिने व्यवस्था अनिवार्य गरिएको छ ।

बोर्डले बजारका संस्थालाई तीन तहमा वर्गीकरण गरेको छ । पहिलो तहमा सेबोन, नेप्से र सीडीएससी, दोस्रोमा धितोपत्र दलाल तथा मर्चेन्ट बैंकर र तेस्रोमा क्रेडिट रेटिङ एजेन्सी तथा सेयर रजिस्ट्रार रहनेछन् ।

नयाँ नीतिले २०७६ को सूचना प्रविधि नीतिलाई प्रतिस्थापन गरेको छ । धितोपत्र तथा वस्तु विनिमय बजारको प्रविधिगत सुरक्षा, पारदर्शिता र नियमनलाई बलियो बनाउने उद्देश्यसहित नीति २०८३ कात्तिक १८ देखि लागू भएको हो ।

tFjS3A8dzkkLGqL5g8aJUNEJsksFLgViVVyGz9rM