मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल: जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

राजनीति

काठमाडौँ, ११ कात्तिक। जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच प्रभावकारी बनाउने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ।

मन्त्रालयमा भएको भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत जोखिममा रहेका समुदायको अधिकार संरक्षण, सुरक्षा र न्यायमा पहुँच अभिवृद्धिका विषयमा छलफल भएको थियो। विशेषगरी जातीय भेदभाव तथा छुवाछुतका घटनामा प्रभावकारी अनुसन्धान र कानुनी कारबाही, पीडितको संरक्षण तथा उजुरीको शीघ्र सम्बोधनलाई प्राथमिकतामा राखिएको थियो।

जातीय भेदभाव तथा छुवाछुतका घटनामा संलग्नलाई प्रचलित कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रक्रिया प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो। यसका लागि नेपाल प्रहरीमा रहेको दलित सहायता कक्षलाई थप सक्रिय र प्रभावकारी बनाउने, प्राप्त उजुरीलाई संवेदनशीलतापूर्वक ग्रहण गर्ने तथा अनुसन्धान र अभियोजन प्रक्रियालाई शीघ्र अघि बढाउने विषयमा छलफल भएको थियो। प्रहरी कर्मचारी तथा अधिकारीलाई नियमित ब्रिफिङ र तालिममार्फत जातीय विभेदविरुद्धको कानुनी व्यवस्था, पीडितमैत्री व्यवहार र जवाफदेहिताबारे थप जिम्मेवार बनाउनुपर्ने आवश्यकता पनि औँल्याइएको थियो।