भारी वर्षा र हिमपातको जोखिम: कात्तिक ११ देखि १५ सम्म उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह

Headlines समाचार

काठमाडौं । पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै पर्यटक, पदयात्री तथा पर्वतारोहीलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना छ। प्रतिकूल मौसमका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोसमेत जान सक्ने पूर्वानुमान गरिएको छ।

मौसम प्रतिकूल हुँदा पदयात्रा तथा हिमाल आरोहण जोखिमपूर्ण बन्न सक्ने भएकाले पर्यटन विभागले उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र त्यस्ता क्षेत्रमा पुगिसकेका पदयात्री तथा पर्वतारोहीलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागले यात्रा योजना बनाउनुअघि सम्बन्धित आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचना अनिवार्य रूपमा हेर्नसमेत आग्रह गरेको छ।

यसैबीच, उच्च हिमाली क्षेत्रमा देखिन सक्ने एक्युट माउन्टेन सिकनेस (Acute Mountain Sickness—AMS) लगायतका स्वास्थ्य समस्याको उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ। खुम्बु, मनाङलगायतका हिमाली क्षेत्रका साथै काठमाडौं र पोखरास्थित स्वास्थ्य संस्थामा आवश्यक उपचार सेवा उपलब्ध गराउन विभागले आग्रह गरेको हो।

मौसमसम्बन्धी पूर्वानुमानलाई ध्यानमा राख्दै पर्यटक तथा पर्वतारोहीले आफ्नो सुरक्षा प्राथमिकतामा राख्न र जोखिमपूर्ण यात्रा नगर्नुपर्ने देखिएको छ।