Police Sweep in Kathmandu: ७५ जना पक्राउ, अदालतका कसुरदारदेखि फरार प्रतिवादीसम्म फन्दामा!

Headlines अपराध तथा सुरक्षा

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, ७५ जना पक्राउ

अदालतबाट सजाय पाएका आठ र फरार प्रतिवादी चार जना पनि नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्न प्रहरीले सञ्चालन गरेको विशेष अभियानमा ७५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा ६० पुरुष र १४ महिला छन्। प्रहरीले थप एक जनालाई पनि नियन्त्रणमा लिएको जनाएको छ।

सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपास र नागरिकको बढी आवतजावत हुने क्षेत्रलाई लक्षित गरी अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार सार्वजनिकस्थल तथा यातायातमा सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि र गुण्डागर्दीजस्ता क्रियाकलापमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

अभियानका क्रममा अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तोकिएका आठ जना कसुरदार पक्राउ परेका छन्। त्यस्तै, अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सार्वजनिक यातायात र भीडभाड हुने स्थानमा चोरी, लुटपाट तथा दुर्व्यवहार नियन्त्रण गर्नु, फरार कसुरदार र प्रतिवादीको खोजी गर्नु तथा नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउनु अभियानको उद्देश्य हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका व्यक्तिको संलग्नता र उनीहरूमाथि लागेका आरोपबारे थप अनुसन्धान भइरहेको जनाएको छ।