काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।
अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ प्रस्थान गरेका हुन् ।
विश्वभरका अर्थमन्त्री सहभागी हुने ऊक्त बैठकका त्रममा वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउनेछन् । ती बैठकमा नेपालको आर्थिक अवस्था, अन्तर्राष्ट्रिय आर्थिक सहकार्य तथा विकासका प्राथमिकतासम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक जानेछन् । अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।



