Microfinance मा Digital Leap! SCT सँगको सहकार्यमा डिप्रोक्स लघुवित्तका ग्राहकले पनि पाउने भए Card Service

बैंक/वित्त

SCT द्वारा लघुवित्त क्षेत्रको डिजिटल सबलीकरण:डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (PSO) को अनुमति प्राप्त एससीटी र ‘घ’ वर्गको वित्तीय संस्थाको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्तबीच भएको यस सम्झौतासँगै डिप्रोक्सका ग्राहक तथा सदस्यहरूले पनि कार्ड तथा आधुनिक डिजिटल भुक्तानी सेवाको लाभ लिन पाउने भएका छन्।

सम्झौताअनुसार एससीटीले सञ्चालन गर्दै आएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको नेटवर्कमार्फत डिप्रोक्स लघुवित्तले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी सुविधा उपलब्ध गराउनेछ।

सम्झौताले विशेषगरी ग्रामीण क्षेत्र तथा न्यून आय भएका वर्गसम्म आधुनिक वित्तीय प्रविधि (फिनटेक) र डिजिटल भुक्तानी सेवाको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। लघुवित्तका सेवाग्राहीलाई परम्परागत डिजिटल माध्यमभन्दा थप विकल्प उपलब्ध गराउँदै कार्ड सेवामा आबद्ध गराउने यो पहललाई वित्तीय समावेशीकरणको दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

एससीटीले स्थापनाकालदेखि नै समाजका सबै वर्गसम्म आधुनिक भुक्तानी प्रविधिको पहुँच विस्तार गर्ने लक्ष्यसहित काम गर्दै आएको जनाएको छ। कम्पनीले आफ्नो नयाँ मूलमन्त्र ‘Network for All’ अनुरूप लघुवित्त क्षेत्रका सेवाग्राहीलाई समेत सुरक्षित, सहज र आधुनिक डिजिटल भुक्तानी प्रणालीमा जोड्ने लक्ष्य लिएको छ।

यस सहकार्यले नेपालको डिजिटल वित्तीय प्रणालीलाई थप सशक्त, समावेशी र सर्वसुलभ बनाउन योगदान पुर्‍याउने एससीटीको विश्वास छ।