काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दै छन्। उनले बैठकका क्रममा १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय छलफलमा सहभागी हुने कार्यक्रम छ।
अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरलाइन्सको विमानमार्फत बैंकक जाने कार्यक्रम रहेको छ। विश्वभरका अर्थमन्त्री तथा आर्थिक क्षेत्रका उच्च अधिकारी सहभागी हुने बैठकमा उनले नेपालको आर्थिक अवस्था, विकासका प्राथमिकता र अन्तर्राष्ट्रिय आर्थिक सहकार्यका विषयमा विभिन्न पक्षसँग छलफल गर्नेछन्।
बैठकका क्रममा हुने द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा नेपालले अन्तर्राष्ट्रिय वित्तीय संस्थासँगको सहकार्य, विकासका लागि वित्तीय स्रोत परिचालन र आर्थिक चुनौतीका विषय उठाउन सक्नेछ। यद्यपि, छलफलका निश्चित विषय र प्रस्तावित सम्झौताबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
अर्थमन्त्रीसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक जानेछन्।
अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ।



