बुढीगण्डकी बाढीले चार जलविद्युत् आयोजनामा क्षति,

Headlines आर्थिक

बुढीगण्डकीको मुख्य क्याम्प बगायो, अन्यको पुल, पहुँच सडक र निर्माण सामग्रीमा क्षति

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार बाढीबाट ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनासहित निर्माणाधीन आयोजनाका क्याम्प, निर्माण उपकरण, बेलिब्रिज र पहुँच सडकमा क्षति पुगेको छ।

क्षति भएका आयोजनामा ३४१ मेगावाटको बुढीगण्डकी, २४.५ मेगावाटको दोभान खोला, ३०.५९ मेगावाटको यारु खोला र १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजना छन्। उपलब्ध विवरणअनुसार यी आयोजनाको कुल जडित क्षमता ४१२.०९ मेगावाट छ।

प्रारम्भिक विवरणअनुसार टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाका केही निर्माण उपकरणसमेत बगाएको विवरणमा उल्लेख छ।

त्यस्तै, दोभान खोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरिरहेको २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ। बाढीले आयोजनाको बेलिब्रिजसमेत बगाएको छ।

३०.५९ मेगावाटको यारु खोला जलविद्युत् आयोजनाको बेलिब्रिजमा क्षति पुगेको छ। यारु हाइड्रो पावर प्रालिले प्रवर्द्धन गरिरहेको यस आयोजनाको निर्माण सामग्री तथा उपकरणसमेत बाढीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।

१६ मेगावाटको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजनास्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ। वाटर इनर्जी डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको आयोजनामा भएको क्षतिको विस्तृत विवरण भने उपलब्ध छैन।

बाढीले निर्माणस्थलका संरचना, उपकरण तथा आवागमनका पूर्वाधारमा क्षति पुर्‍याउँदा आयोजनाको निर्माण कार्य प्रभावित हुन सक्ने देखिन्छ। तर, उपलब्ध प्रारम्भिक विवरणमा क्षतिको आर्थिक मूल्य, निर्माण कार्यमा पर्ने असर र आयोजना सम्पन्न हुने समयतालिकामा पर्ने प्रभाव खुलाइएको छैन।