नेपाल न्यूज बैंकको ‘समाचार संवाद’ कार्यक्रम सम्पन्न

Headlines समाचार

काठमाडौं । नेपाल न्यूज बैंक न्यूज एजेन्सीले आयोजना गरेको ‘समाचार संवाद’ कार्यक्रम शनिबार एक समारोहका बीच सम्पन्न भएको छ ।

कार्यक्रममा समाचार एजेन्सीको महत्त्व, यसले भोगिरहेका चुनौती तथा आगामी दिनमा एजेन्सीलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा सहभागी नेपाल न्यूज बैंकका ४३ वटा सञ्चारमाध्यमका ग्राहकले बैंकले उपलब्ध गराउँदै आएका समाचार सामग्रीप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए । उनीहरूले आगामी दिनमा थप खोजमूलक, विश्लेषणात्मक तथा विविध विषय समेटिएका समाचार सामग्री उपलब्ध गराउन सुझाव दिए । उनीहरुले एजेन्सीका कमजोरीहरु पनि औंल्याए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल, विशिष्ट अतिथि बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटा तथा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाचार एजेन्सीको भूमिका, चुनौती र सम्भावनाबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

यसैगरी, नेपाल न्यूज बैंकका अध्यक्ष कमल सापकोटा र प्रमुख सम्पादन सल्लाहकार धर्मेन्द्र झा लगायतले समाचार एजेन्सीको वर्तमान अवस्था, सामग्रीको गुणस्तर तथा आगामी कार्यदिशाका विषयमा विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा सञ्चारमाध्यमको बदलिँदो आवश्यकता सम्बोधन गर्दै गुणस्तरीय समाचार सामग्री उत्पादन र वितरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।