काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनीनिकटका व्यक्ति तथा नातेदारको घरमा छापा मारेको छ ।
विभाग स्रोतका अनुसार बुधबार जबराको घरसहित उनीनिकट केही व्यक्ति र नातेदारको घरमा एकैपटक छापा मारिएको हो । स्रोतले करिब आधा दर्जन व्यक्तिको घरमा छापा मारेर अनुसन्धानसँग सम्बन्धित महत्त्वपूर्ण कागजात बरामद गरिएको दाबी गरेको छ ।
जबरालाई गत असोज ११ गते मध्यराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनको निवासबाटै नियन्त्रणमा लिएको थियो । बिना पुर्जी नियन्त्रणमा लिइएका जबरालाई करिब १२ घण्टा प्रहरी कार्यालयमा राखिएपछि छाडिएको थियो ।
त्यसक्रममा प्रहरीले जबराको मोबाइल डिभाइस तथा त्यसमा रहेको डिजिटल डेटामाथि अनुसन्धान गरेको थियो । मोबाइल डेटाको विश्लेषणका क्रममा जबराको विभिन्न व्यक्ति तथा पक्षसँगको सम्पर्क र ‘कनेक्सन’ खुलेको स्रोतको दाबी छ ।
त्यही अनुसन्धानबाट प्राप्त सूचनाका आधारमा विभागले जबरासँग सम्बन्धित व्यक्ति तथा नातेदारमाथि समेत अनुसन्धान विस्तार गरेको जनाइएको छ ।
बुधबार गरिएको छापा र बरामद कागजातले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई थप गहिराइमा लैजाने संकेत गरेको छ । यद्यपि विभागले छापा, बरामद सामग्री र अनुसन्धानको दायराबारे औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन ।



