काठमाडौं । नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि आउन सक्ने व्यापारिक चुनौती सामना गर्न सरकार र निजी क्षेत्रले अहिलेबाटै स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी गर्नुपर्नेमा उद्योगी–व्यवसायीले जोड दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना तथा मझौला उद्यम अभिवृद्धि परियोजना’ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘अतिकम विकसित मुलुकबाट स्तरोन्नति सचेतना कार्यशाला’मा सहभागी उद्योगी, व्यवसायी तथा साना तथा मझौला उद्यमीले स्तरोन्नतिको संक्रमणकालका लागि तत्काल तयारी आवश्यक रहेको बताएका हुन्।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारको आग्रहपछि एलडीसीबाट स्तरोन्नतिको प्रक्रिया केही समय पर सर्न सक्ने अवस्था भए पनि त्यसपछि व्यापार तथा अन्य क्षेत्रमा प्राप्त हुँदै आएका सुविधामा आउन सक्ने परिवर्तनका कारण नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता जोगाउन अहिलेबाटै तयारी गर्नुपर्ने बताए।
उनले यसअघि प्राप्त तयारी अवधिको अपेक्षित उपयोग हुन नसकेको भन्दै अब उपलब्ध हुने थप समयलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए। उनका अनुसार स्तरोन्नतिपछि सुविधा क्रमशः हट्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने मुख्य आधार उत्पादन लागत, गुणस्तर र दक्षता हुने भएकाले सरकारले सम्बन्धित क्षेत्रमा तत्काल सुधार अघि बढाउनुपर्छ।
‘सुविधामा आधारित प्रतिस्पर्धा’बाट ‘क्षमतामा आधारित प्रतिस्पर्धा’तर्फ जानुपर्ने अवस्था आउने भन्दै श्रेष्ठले निजी क्षेत्रले पनि उत्पादनको गुणस्तर, प्रविधि, मूल्य शृङ्खला र बजार विविधीकरणमा लगानी बढाउनुपर्ने बताए।
नेपाल सन् २०२६ मा एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियामा छ। संयुक्त राष्ट्रसंघको निर्णयअनुसार नेपाललाई स्तरोन्नतिका लागि आवश्यक तयारी अवधि दिइएको थियो। स्तरोन्नतिपछि एलडीसीका रूपमा प्राप्त हुँदै आएका केही व्यापारिक तथा अन्य सहुलियतमा क्रमशः परिवर्तन आउने भएकाले संक्रमणकालीन तयारीलाई महत्वपूर्ण मानिएको छ।
महासंघ बागमती प्रदेशका अध्यक्ष बेदबहादुर श्रेष्ठले स्तरोन्नतिको प्रभाव प्रदेश र स्थानीय तहमा रहेका उद्योग–व्यवसायसम्म पुग्ने भएकाले निजी क्षेत्रलाई समयमै सचेत र तयार बनाउनुपर्ने बताए।
उनले सरकार, निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य बढाएर स्तरोन्नतिलाई चुनौतीका रूपमा मात्र नहेरी नयाँ अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।
कार्यशालामा परियोजनाका परामर्शदाता भोजराज पोखरेलले नेपालले स्तरोन्नति हासिल गरेपछि प्राप्त हुने सम्भावित अवसर र सामना गर्नुपर्ने चुनौतीबारे प्रस्तुति दिएका थिए। उनले संक्रमणकालको तयारी योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने भन्दै उत्पादन क्षमता, गुणस्तर, बजार विविधीकरण र निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने बताए।
उनका अनुसार नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन उत्पादन लागत घटाउने, गुणस्तर सुधार गर्ने, नयाँ बजार खोज्ने र निजी क्षेत्रको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता छ।
त्यस्तै, ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना तथा मझौला उद्यम अभिवृद्धि परियोजना’का परियोजना प्रमुख रोशन नेपालले परियोजनाले नेपालमा समावेशी तथा प्रतिस्पर्धी व्यावसायिक वातावरण निर्माण, साना तथा मझौला उद्यमको क्षमता अभिवृद्धि र उनीहरूको बजार पहुँच विस्तारमा काम गरिरहेको जानकारी दिए।
उनका अनुसार परियोजनाले एलडीसी स्तरोन्नतिपछि पर्न सक्ने प्रभावबारे क्षेत्रगत तथा बजारगत अध्ययनसमेत गरिरहेको छ। महासंघले यसअघि विराटनगर, वीरेन्द्रनगर र धनगढीमा यस्तै सचेतना कार्यक्रम आयोजना गरिसकेको छ। काठमाडौंमा आयोजित कार्यक्रम उक्त शृंखलाको चौथो कार्यशाला हो।
महासंघले आगामी दिनमा भक्तपुर र ललितपुरमा समेत यस्ता कार्यक्रम आयोजना गर्ने जनाएको छ। कार्यशालामा उद्योगी, व्यवसायी, साना तथा मझौला उद्यमी, विकास साझेदार तथा अन्य सरोकारवालाको सहभागिता थियो।
नेपालको एलडीसी स्तरोन्नतिको तयारीका क्रममा व्यापार क्षेत्रमा पर्ने प्रभाव न्यूनीकरण गर्न सरकारले वाणिज्य क्षेत्रका लागि रणनीतिक योजना पनि अघि बढाएको छ। स्तरोन्नतिपछि नेपाली वस्तु तथा सेवाले पाउँदै आएका केही प्राथमिकता र सहुलियतमा परिवर्तन आउन सक्ने भएकाले निर्यातको प्रतिस्पर्धात्मक क्षमता कायम राख्नु मुख्य चुनौतीका रूपमा देखिएको छ।
यसै कारण निजी क्षेत्रले स्तरोन्नतिलाई केवल सुविधामा हुने कमीका रूपमा नभई उत्पादन, प्रविधि, गुणस्तर र बजार विस्तारमा सुधार गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएको छ।



