काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी २ र ३ अप्रिल २०२७ मा काठमाडौंमा चौथो अन्तर्राष्ट्रिय अर्थशास्त्र तथा वित्त सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलनका लागि राष्ट्र बैंकले अनुसन्धानकर्तालाई आफ्नो शोधपत्र पेस गर्न आह्वान गरेको छ।
राष्ट्र बैंकका अनुसार सम्मेलनको मुख्य विषय ‘आर्थिक वृद्धि र समष्टिगत वित्तीय स्थिरता : जोखिम तथा चुनौती’ रहेको छ। अर्थशास्त्र तथा वित्तसँग सम्बन्धित नीति निर्माता, व्यवसायी, अनुसन्धानकर्ता तथा विज्ञलाई एउटै मञ्चमा ल्याएर आर्थिक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।
सम्मेलनका लागि आर्थिक वृद्धि तथा विकास, अन्तर्राष्ट्रिय व्यापार तथा वित्त, समष्टिगत वित्तीय सम्बन्ध तथा मौद्रिक नीति र वित्तीय नवप्रवर्तन तथा उत्थानशीलतालाई मुख्य विषयका रूपमा राखिएको छ।
आर्थिक वृद्धि तथा विकासअन्तर्गत संस्था, मानव पुँजी, वित्त र आर्थिक वृद्धि, जलवायुजन्य धक्का, आर्थिक प्रतिस्पर्धात्मकता, सार्वजनिक ऋण, वित्तीय दिगोपन, कर संरचना, विप्रेषण, श्रम आपूर्ति तथा औद्योगिक क्षेत्रमा देखिएका परिवर्तनलगायत विषयमा शोधपत्र पेस गर्न सकिनेछ।
त्यस्तै, अन्तर्राष्ट्रिय व्यापार, वित्त तथा लगानीअन्तर्गत व्यापार उदारीकरण, व्यापार अवरोध, उत्पादकत्व, विप्रेषण, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, पुँजी प्रवाह, ब्याजदर तथा विनिमय दर, विदेशी मुद्रा सञ्चिति, चालु तथा पुँजी खाता, बचत र लगानीजस्ता विषय समेटिएका छन्।
समष्टिगत वित्तीय सम्बन्ध, वित्तीय स्थिरता तथा मौद्रिक नीतितर्फ आर्थिक चक्र, वित्तीय जोखिम, कर्जा जोखिमको नमुना, समष्टिगत तनाव परीक्षण, वित्तीय घर्षण, वित्तीय क्षेत्रका नीति, समष्टिगत आर्थिक नमुना तथा मौद्रिक नीतिको प्रभावसम्बन्धी अनुसन्धानलाई प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ।
यसैगरी वित्तीय नवप्रवर्तन तथा उत्थानशीलताअन्तर्गत केन्द्रीय बैंक डिजिटल मुद्रा, क्रिप्टोकरेन्सी, स्टेबल क्वाइन, नियामकीय प्रविधि, वित्तीय प्रविधि, डिजिटल भुक्तानी, वित्तीय समावेशिता, ब्लकचेन, सीमापार भुक्तानी, कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, विकेन्द्रीकृत वित्त, जलवायु वित्त तथा हरित नवप्रवर्तनजस्ता विषयमा पनि शोधपत्र पेस गर्न सकिनेछ।
राष्ट्र बैंकले सम्मेलनका लागि सम्पूर्ण शोधपत्र ३१ जनवरी २०२७ सम्म पेस गर्नुपर्ने जनाएको छ। सारांश वा विस्तारित सारांश मात्रै भने स्वीकार गरिने छैन। शोधपत्र nrbconference2027@nrb.org.np मा पठाउनुपर्नेछ।
पेस भएका शोधपत्र मौलिक तथा यसअघि प्रकाशित नभएको हुनुपर्नेछ। प्राप्त शोधपत्रलाई विज्ञबाट गोप्य समीक्षाको प्रक्रियामार्फत मूल्यांकन गरिनेछ। शोधपत्रको आवरण पृष्ठमा शीर्षक, लेखकको नाम, संस्थागत आबद्धता, ठेगाना, फोन नम्बर र इमेल राख्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार स्वीकृत सबै शोधपत्र सम्मेलनको कार्यपत्र संग्रहमा प्रकाशित गरिनेछ। नेपाल वा क्षेत्रीय विश्लेषणसँग सम्बन्धित स्वीकृत शोधपत्रलाई राष्ट्र बैंकको सहकर्मी-समीक्षित द्विवार्षिक ‘इकोनोमिक रिभ्यु’ मा समेत प्रकाशनका लागि विचार गर्न सकिनेछ।
सम्मेलनमा सहभागी हुन कुनै दर्ता शुल्क लाग्ने छैन। शोधपत्र प्रस्तुत गर्ने तथा सहभागी हुने दुवैका लागि दर्ताको अन्तिम मिति ३ मार्च २०२७ तोकिएको छ। सम्मेलनका क्रममा सहभागीलाई खाना तथा रात्रीभोजनको व्यवस्था गरिने भए पनि यात्रा तथा आवास खर्च भने सहभागी आफैंले व्यहोर्नुपर्नेछ।
राष्ट्र बैंकले सम्मेलनमार्फत आर्थिक वृद्धि, वित्तीय स्थिरता, मौद्रिक नीति, वित्तीय नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्धका क्षेत्रमा नयाँ अनुसन्धान र नीतिगत बहसलाई जोड दिने जनाएको छ।



