काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमलाई डिजिटल प्रणालीमा लैजाने क्रममा स्वास्थ्य बीमा बोर्डले आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ। नयाँ आबद्धता, बीमा नवीकरण तथा स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र आवश्यक पर्नेछ।
स्वास्थ्य बीमा बोर्डको दोस्रो बोर्ड बैठकले स्वास्थ्य बीमा कार्यक्रमको डिजिटल सुधारसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो। बोर्डका अनुसार १६ वर्ष उमेर पूरा गरेका नागरिकले पुस १ गतेदेखि स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्त गर्दा राष्ट्रिय परिचयपत्र प्रयोग गर्नुपर्नेछ।
बोर्डले सामान्य तथा लक्षित वर्गका सबै बीमित परिवारलाई एचआईबी ई–पोर्टलमार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णयसमेत गरेको छ।
राष्ट्रिय परिचयपत्रलाई स्वास्थ्य बीमा प्रणालीसँग जोड्दा बीमितको पहिचान सुनिश्चित हुनुका साथै दोहोरो आबद्धता नियन्त्रण, ग्राहक पहिचानसम्बन्धी विवरण अद्यावधिक र दाबी व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ। स्वास्थ्य बीमा बोर्डले यसअघि पनि राष्ट्रिय परिचय नम्बरको डिजिटल प्रयोग तथा बीमा सेवासँग यसको अन्तरआबद्धताका लागि काम अघि बढाउँदै आएको छ।
डिजिटल स्वास्थ्य अभिलेखबाटै दाबी
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट विद्युतीय स्वास्थ्य अभिलेख (ईएमआर) प्रणालीमार्फत प्राप्त हुने डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई प्रचलित कानुन र निर्धारित मापदण्ड पूरा भएमा दाबीका रूपमा मान्यता दिने निर्णय गरेको छ।
यससँगै हस्तलिखित प्रिस्क्रिप्सन, म्यानुअल दाबी र कागजी अभिलेखमा निर्भरता घटाउने लक्ष्य बोर्डले लिएको छ। डिजिटल विवरण प्रयोग भएपछि दाबी परीक्षण तथा भुक्तानी प्रक्रियामा हुने ढिलाइसमेत कम हुने अपेक्षा गरिएको छ।
बोर्डले ईएमआरबाट प्राप्त डिजिटल तथ्यांकलाई आगामी दिनमा कृत्रिम बुद्धिमत्ता तथा मेसिन लर्निङमा आधारित दाबी समीक्षा प्रणालीमा समेत प्रयोग गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थामा ईएमआर प्रणाली कार्यान्वयनसम्बन्धी सूचना यसअघि नै जारी गरिसकेको छ।
२ हजार १८९ आईसीडी–११ कोड प्रयोग
स्वास्थ्य बीमा दाबी व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित गर्न बोर्डले पहिलो चरणमा २ हजार १८९ वटा अनुकूलित आईसीडी–११ कोड स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) मा प्रयोग गर्ने निर्णय गरेको छ।
यसबाट बिरामीको रोग तथा स्वास्थ्य अवस्थाको अभिलेखीकरणमा एकरूपता आउने र दाबी परीक्षणलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ।
सेवा खरिद प्रणालीमा पनि सुधार
बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक, लागत–प्रभावकारी र दीगो बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ।
कार्यदलले सेवा प्रदायक स्वास्थ्य संस्थाको छनोट तथा सम्झौताको आधार, सेवाको वर्गीकरण, सेवा खरिद तथा भुक्तानी विधि, सम्झौताको मस्यौदा र चरणबद्ध कार्यान्वयन योजनासहितको प्रतिवेदन ६० दिनभित्र पेश गर्नुपर्नेछ।
बोर्डका अनुसार रणनीतिक खरिद प्रणालीले स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपना, स्वास्थ्य सेवाको गुणस्तर, लागत नियन्त्रण र दाबी व्यवस्थापन सुधारमा सहयोग गर्नेछ।
स्वास्थ्य बीमा बोर्डले पछिल्लो समय अनलाइन आबद्धता तथा नवीकरण, डिजिटल कार्ड र ईएमआरजस्ता प्रणाली अघि बढाइरहेको छ। बोर्डको वेबसाइटमा विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३ समेत सार्वजनिक गरिएको छ।
बोर्डका पछिल्ला निर्णयले स्वास्थ्य बीमा कार्यक्रमलाई कागजी प्रक्रियाबाट डिजिटल पहिचान, डिजिटल स्वास्थ्य अभिलेख र डिजिटल दाबी व्यवस्थापनतर्फ लैजाने तयारी तीव्र बनाएको छ।



