INVESTMENT–JOB–SKILL LINKAGE: आर्थिक गतिविधि चलायमान बनाउन सरकारसँग निजी क्षेत्रको सहकार्य बढाउन श्रेष्ठको आग्रह

Headlines आर्थिक

इटहरी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सुस्त रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच थप सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्।

कोशी प्रदेशको भ्रमणका क्रममा अध्यक्ष श्रेष्ठले प्रदेश सरकार, उद्योग वाणिज्य संघ तथा उद्योगी–व्यवसायीसँग लगानी, रोजगारी, सीप विकास र व्यवसाय सञ्चालनका चुनौतीबारे छलफल गरेका हुन्। उनले स्थानीय स्रोत, साधन र सम्भावनालाई आर्थिक गतिविधिमा जोड्न सरकार र निजी क्षेत्रबीच नियमित सहकार्य आवश्यक रहेको बताए।

नेपाल सरकारले इटहरीमा आयोजना गरेको सीप तथा रोजगार मेलामा सहभागी हुने क्रममा श्रेष्ठले कोशी प्रदेश महासंघको सचिवालयमा पुगेर प्रदेशको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरेका थिए। उनले सीप विकासका कार्यक्रमलाई निजी क्षेत्रको वास्तविक आवश्यकता र बजारको मागसँग जोड्नुपर्ने बताए।

उनका अनुसार बजारमा आवश्यक पर्ने जनशक्तिको माग पहिचान गरेर त्यहीअनुसार सीपमूलक तालिम सञ्चालन गर्न सके रोजगारी सिर्जना र व्यवसाय विस्तार दुवैमा सहयोग पुग्न सक्छ। स्थानीय तहमा उपलब्ध स्रोत र सम्भावनाको उपयोग गर्न उद्योग वाणिज्य संघ र स्थानीय तहबीच सार्वजनिक–निजी साझेदारीमा काम गर्नुपर्नेमा पनि उनले जोड दिए।

श्रेष्ठले इटहरी उद्योग वाणिज्य संघमा पुगेर नयाँ नेतृत्व तथा व्यवसायीसँग पनि छलफल गरेका थिए। त्यस क्रममा स्थानीय उद्योग–व्यवसायका समस्या, लगानीको अवस्था र आर्थिक गतिविधिका विषयमा जानकारी लिँदै स्थानीय तह र निजी क्षेत्रबीच नियमित समन्वयबाट स्थानीय स्रोत तथा सम्भावनालाई आर्थिक गतिविधिमा रूपान्तरण गर्न सकिने बताए।

मोरङ उद्योग संगठनमा भएको छलफलमा उद्योगीहरूले उत्पादन तथा व्यवसाय सञ्चालनका चुनौती, लगानीको वातावरण र औद्योगिक गतिविधि विस्तारका विषयमा धारणा राखेका थिए। मोरङ व्यापार संघमा भएको छलफलमा भने बजारको सुस्तता, व्यापार–व्यवसाय सञ्चालनका समस्या र आर्थिक गतिविधि बढाउने उपायबारे छलफल भएको महासंघले जनाएको छ।

श्रेष्ठले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसँग पनि भेट गरेका थिए। भेटमा प्रदेशको आर्थिक विकासमा महासंघको प्रदेश संरचना तथा स्थानीय तहसँगको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

उनले कोशी प्रदेशमा कृषि, पर्यटन, उद्योग तथा व्यापारका क्षेत्रमा रहेका सम्भावनालाई उपयोग गरेर लगानी र रोजगारी विस्तार गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए। प्रदेश र स्थानीय तहसँग महासंघको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको महासंघले जनाएको छ।

महासंघ कोशी प्रदेशका अध्यक्षले चुनौतीपूर्ण आर्थिक अवस्थाबीच प्रदेश महासंघले व्यवसायीलाई आवश्यक समन्वय र सहजीकरण गर्दै आएको बताएका थिए।

भ्रमणका क्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य गोपाल श्रेष्ठ, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष नवीन बस्नेत, केन्द्रीय सदस्य सुयश प्याकुरेल, कोशी प्रदेश महासंघका उपाध्यक्ष राजन श्रेष्ठ र रविन दाहाल तथा कोषाध्यक्ष श्रवण अग्रवाललगायत उद्योगी–व्यवसायी सहभागी थिए। उनीहरूले पनि आर्थिक गतिविधि चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच थप समन्वय आवश्यक रहेको बताएका थिए।