काठमाडौं । आज (बिहीबार) राष्ट्रिय चलचित्र दिवस मनाइँदैछ । नेपाली चलचित्र क्षेत्रका अग्रज कलाकार, निर्देशक, प्राविधिक तथा निर्माण टिमको योगदानको स्मरण गर्दै यो दिवस मनाउने परम्परा छ ।
नेपाली मौलिक कथा, भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत देश तथा विदेशसम्म पुर्याउने भएकाले उत्सवका रूपमा पनि चलचित्र दिवसलाई लिइन्छ ।
नेपालको पहिलो कथानक चलचित्र ‘आमा’ प्रदर्शन भएको दिनलाई आधार मानेर असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा चलचित्र क्षेत्रका अग्रज कलाकारहरूले आफूहरूले चलचित्र क्षेत्रमा गरेको संघर्ष, प्रविधिमा आएको परिवर्तन, नयाँ पुस्ताको अभिनय तथा दर्शकको मायाबारे अनुभव सुनाएका छन् ।
वरिष्ठ कलाकार बसुन्धरा भुसालले चलचित्र दिवस कलाकार मात्र नभई दर्शकहरूको पनि दिवस भएको बताइन् । उनले चलचित्र दिवसलाई भव्य रूपमा मनाउनुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘यो दिवस हामी सम्पूर्ण चलचित्रकर्मी मात्र नभएर दर्शकहरूको पनि हो । चलचित्र विकास बोर्डमा दिनेश डिसीज्यू अध्यक्षज्यू हुँदाखेरि ‘ओल्ड इज गोल्ड’ भनेर एउटा फेस्टिभल नै आयोजना गर्नुभयो ।’
उनले चलचित्र दिवस नेपाली चलचित्रकर्मीका लागि ठूलो पर्वजस्तै भएको बताइन् । ‘चलचित्र दिवस चलचित्रकर्मीहरूको लागि ठूलो दशैँ जस्तो हो । वि.स.२०२१ सालदेखि निरन्तर छु, ‘आमा’देखि निरन्तर सक्रिय पनि छु । पूर्णकालिन चलचित्रकर्मी भएकालेपनि दिवस मनाउनुपर्छ भन्ने लाग्छ ।’
भुसालले विगत भन्दा हाल चलचित्र निर्माणमा प्रविधिका कारण ठूलो परिवर्तन आएको बताइन् । उनका अनुसार ३५ एमएम हुँदै १६ एमएम र १७ एमएममा काम गर्ने अवस्था थियो । अहिले डिजिटल प्रविधिले चलचित्र निर्माणलाई धेरै सहज बनाएको छ ।
तर अभिनयको आधारभूत पक्ष भने उस्तै रहेको उनको भनाइ छ । ‘अभिनय त एउटै हो। पुरानो र नयाँ भने रुँदाखेरि रुवाइ, बोलाइ, हँसाइ फरक होइन, एउटै हो तर प्राविधिक हिसाबले धेरै फरक भयो,’ भुसालले भनिन् ।
आफूहरूले चलचित्र क्षेत्रमा धेरै संघर्ष गरेर स्थान बनाएको स्मरण गर्दै उनले अहिले दर्शकबाट पाएको माया विगतको संघर्षको फल भएको बताइन् ।
‘धेरै संघर्ष गरेर यो ठाउँमा आइपुगेको हुँ। धेरै पिटाइ र भनाइ सहेर आएका हौं । हामी सजिलोसँग फुत्त आएका होइनौं । पहिला जति गाली गर्थे अहिले त्यति नै ताली र माया पाएका छौं,’ उनले भनिन् ।
उनले नयाँ पुस्ताका कलाकारलाई अनुशासन, लगनशीलता र धैर्यता अपनाउन आग्रह गरिन् । फिल्म हिट वा फ्लप हुँदा पनि संयमित हुनुपर्ने उनको सुझाव छ ।
‘एउटा फिल्म हिट भो भनेर एकदम फुरफुर हुनुहुन्न र फिल्म फ्लप खायो भनेर रोएर पखेटै झरेको जस्तो गरेर बस्न पनि हुँदैन । एउटा लेभलमा जानुपर्छ,’ उनले भनिन् ।
उनले चलचित्रले आफूलाई पहिचान दिएको बताउँदै दर्शकलाई आफ्नो सफलताको मुख्य आधारका रूपमा लिएको बताइन् ।
यसैगरी, नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले चलचित्र दिवस कलाकारका लागि दशैँजस्तै पर्व भएको बताइन् ।
चन्दले दिवसलाई गौरवका साथ मनाउने गरेको बताइन् । ‘दिवसलाई उत्सव र गौरवका रुपमा महसुस गर्छौँ । बिहानदेखि बिजी पनि भइन्छ,’ उनले भनिन् ।
उनले पुरानो र अहिलेको चलचित्र क्षेत्रमा धेरै परिवर्तन आएको बताइन् । अहिलेका कलाकारले प्रशिक्षण तथा अध्ययन गरेर अभिनय क्षेत्रमा प्रवेश गर्ने गरेको उल्लेख गर्दै चन्दले नयाँ पुस्ताको प्रशंसा गरिन् ।
‘हाम्रो पालामा सिक्ने कुनै मौका नै थिएन। जे गर्थ्यौँ वा डाइरेक्टरले जे भन्छन् त्यही हिसाबले गर्नुपर्दथ्यो । अहिले त सिकाएर र सिकेर आउँछन् अर्थात मन्थन गरेर आउँछन् अनि एक्टिङ राम्रो हुन्छ । राम्रा–राम्रा कलाकार अहिले आएका छन्,’ उनले भनिन् ।
आफूले नाटकबाट अभिनय यात्रा सुरु गरेको स्मरण गर्दै चन्दले बालकृष्ण समको नाटक ‘अन्धवेग’बाट कलाकारितामा प्रवेश गरेको बताइन् ।
उनले आफ्नो समयमा कलाकारितालाई समाजले फरक दृष्टिले हेर्ने गरेको पनि स्मरण गरिन् ।
‘त्यो बेला कलाकार भनेपछि हेयको दृष्टिले, नाच्ने–गाउने नचरी रुपमा बुझ्ने चलन थियो । घर परिवारमा पनि राम्रो मान्थेनन् । त्यो बेलाको समय अर्कै थियो । तर अहिले आफ्नो बच्चाहरूलाई पनि कलाकार बनाउने चाहना, इच्छा गर्छन्,’ चन्दले भनिन् ।
यसैगरी हास्यकलाकार मनोज आचार्यले आफूले चलचित्र क्षेत्रमा काम गरेको ४८ वर्ष पुगेको बताए । उनले रेडियो नाटकबाट कलाकारिता सुरु गरेको स्मरण गरे ।
उनले भने, ‘मैले पनि चलचित्रमा काम गरेको ४८ वर्ष भयो। फिल्ममा धेरै काम गरेँ। कला यात्रा गरेकै ४८ वर्ष भइसक्यो। हरिप्रसाद रिमालज्यूले रेडियो नाटकबाट कलाकारिता सिकाउनुभएको हो । कलाकारिता सुरु गरेको २०३४/३५ सालदेखि हो। आजसम्म निरन्तरता छ।’
आचार्यले चलचित्र दिवस मनाउँदा पुराना कलाकार तथा चलचित्रलाई पनि सम्झनुपर्ने बताए । उनले आफ्नो पालाको चलचित्र निर्माण निकै कठिन रहेको स्मरण गरे । ‘हाम्रो पालामा धेरै गाह्रो हुन्थ्यो। बाहिरबाट रिल मगाएर फिल्म खिचेर, रिहर्सल गरेर मात्र क्यामेरामा फेस गर्नु पर्दथ्यो । इन्डियाबाट क्यामेरा ल्याउनुपर्थ्यो । बाहिरबाट रिलहरु, क्यामराम्यान आउँथे,’ उनले भने ।
अहिले प्रविधिका कारण चलचित्र निर्माण धेरै छिटो र सहज भएको आचार्यले बताए । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय राम्रा चलचित्र निर्माण भइरहेको उल्लेख गर्दै आचार्यले निरन्तर प्रगतिको कामना गरे ।
मनिषा बस्नेत/ आंकाक्षा धामी, नेपाल न्यूज बैंक



