गुटेरेससँग प्रधानमन्त्री शाहको भेट, भोटेकोशी विपद्पछि पुनर्वास र हरित पुनर्निर्माणमा छलफल

Sticky News अर्थ समाचार

न्यूयोर्क । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भोटेकोशी विपद्, जलवायु जोखिम र पुनर्निर्माणका विषयमा छलफल भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रसंघको मुख्यालयमा महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन्।

महासभालाई सम्बोधन गर्नुअघि भएको भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए।

गुटेरेसले नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेका थिए। नेपालसँग आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै उनले सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको बताएका थिए।

प्रधानमन्त्री शाहले नेपालप्रति गुटेरेसले देखाएको सद्भावका लागि धन्यवाद दिँदै उनको कार्यकाल सफल होस् भन्ने शुभकामना दिएका थिए। उनले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताएका थिए।

भेटमा नदी किनारमा रहेका बासिन्दाको पुनर्वास तथा विपद्पछिको हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो। जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको जोखिम र त्यसबाट प्रभावित समुदायको पुनर्स्थापनाका विषयमा पनि छलफल भएको जनाइएको छ।

त्यस्तै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको प्रस्तावित स्तरोन्नतिको समयसीमा थप गर्न आवश्यक समर्थनका विषयमा पनि प्रधानमन्त्री शाह र गुटेरेसबीच कुराकानी भएको थियो। नेपाल हाल २४ नोभेम्बर २०२६ मा एलडीसी सूचीबाट स्तरोन्नति हुने समयतालिकामा छ र नेपाल सरकारले स्तरोन्नतिको तयारी अवधि थप गर्न अनुरोध गरेको छ।

भेटवार्ता संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका क्रममा भएको हो। यस वर्षको महासभाको उच्चस्तरीय सप्ताह सेप्टेम्बर १८ देखि २८ सम्म न्यूयोर्कमा भइरहेको छ।