पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक राति बन्द

Headlines समाचार

चितवन, निरन्तर वर्षा र पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्गको चितवन तथा धादिङ क्षेत्रमा र नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सवारी आवागमन रोकिएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार साँझ ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म चितवनतर्फको पृथ्वी राजमार्ग क्षेत्र र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

निरन्तर वर्षा भइरहेकाले सडकमा पहिरो खस्ने जोखिम उच्च रहेको भन्दै रातिको समयमा यात्रु तथा सवारीसाधनको आवागमन रोकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

प्रजिअ अर्यालले बिहान ५ बजेपछि सडकको अवस्था हेरेर सवारीसाधन सञ्चालन गर्न दिइने बताए। रातिको समयमा पहिरो खस्ने अवस्था वा वर्षा निरन्तर रहेमा भने थप सूचना जारी गरेर आवागमन रोक्न सकिने उनले बताए।

नारायणगढ–मुग्लिन सडकखण्डमा यसअघि पनि वर्षायाममा पहिरोका कारण पटक–पटक यातायात प्रभावित हुँदै आएको छ। सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्ने र सडक अवरुद्ध हुने जोखिम रहेकाले वर्षाका बेला यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

यस्तै धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बिहीबार जारी गरेको सूचनामार्फत यात्रु तथा सवारी चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेकी छन्।

उनले जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेकी छन्। वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै अनावश्यक यात्रा नगर्न तथा सडकको अवस्था यकिन गरेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

बिहान सडकको अवस्था सामान्य रहेमा रोकिएको समयपछि सवारीसाधन सञ्चालनमा ल्याइनेछ। तर वर्षा नरोकिएमा र पहिरोको जोखिम कायम रहेमा स्थानीय प्रशासनले आवागमनबारे थप निर्णय गर्नेछ।