पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सुचारु

पूर्वाधार तथा विकास निर्माण

इलाम । इलाम सदरमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको मेची करिडोर (केचना–कञ्चनजंघा) अन्तर्गत पुवा खोलामा बेलिब्रिज जडान कार्य सम्पन्न भएको छ । बेलिब्रिज जडान सम्पन्न भएसँगै आइतबार साँझदेखि उक्त सडक खण्डमा यातायात सञ्चालनमा आएको छ ।

इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोयाकलाई जोड्ने पुवा खोलामा बाढी तथा प्राकृतिक विपद्का कारण स्थायी पुलमा क्षति पुगेपछि यस मार्ग हुँदै हुने यातायात आवागमन प्रभावित हुँदै आएको थियो । सडक अवरुद्ध हुँदा इलाम सदरमुकाम तथा झापातर्फ आवतजावत गर्ने यात्रु, स्थानीय बासिन्दा तथा मालवाहक सवारीसाधनले वैकल्पिक मार्ग साथै डाइभर्सनको प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

यातायात सञ्चालनलाई सहज बनाउन सडक डिभिजन कार्यालय इलामले पुवा खोलामा बेलिब्रिज जडानको काम अघि बढाएको थियो । आवश्यक प्राविधिक तथा निर्माणसम्बन्धी काम सम्पन्न भएपछि बेलिब्रिज सञ्चालनमा ल्याइएको सडक डिभिजन इलामका सूचना अधिकारी तथा इन्जिनियर अर्जुनकुमार घिमिरेले जानकारी दिए ।

उनका अनुसार बेलिब्रिज जडान सम्पन्न भएसँगै आइतबार साँझदेखि सवारीसाधन सञ्चालनमा आएका छन् । यससँगै लामो समयदेखि प्रभावित हुँदै आएको इलाम–झापा आवागमन पुनः सहज हुने भएको छ ।

पुवा खोलाको पुल मेची करिडोरअन्तर्गतको महत्त्वपूर्ण संरचना हो । केचना–कञ्चनजङ्घा जोड्ने अवधारणाअन्तर्गत अघि बढाइएको यो सडक इलाम, पाँचथर र ताप्लेजुङलाई झापाको बिर्तामोड तथा पूर्वी तराईसँग जोड्ने महत्त्वपूर्ण मार्गका रूपमा रहेको छ । विशेष गरी मेची राजमार्गको विभिन्न स्थानमा समस्या आउँदा यो मार्ग वैकल्पिक आवागमनका लागि समेत उपयोगी हुँदै आएको छ ।

बाढी, पहिरो तथा सडक संरचनामा हुने क्षतिका कारण पछिल्लो समय पूर्वी पहाडी जिल्लाको सडक यातायात पटक–पटक प्रभावित हुँदै आएको छ । यस्तो अवस्थामा अस्थायी रूपमा बेलिब्रिज निर्माण तथा जडान गरी यातायात सञ्चालनमा ल्याउने प्रयासले यात्रु तथा स्थानीय बासिन्दालाई तत्काल राहत पुग्ने गरेको छ ।

पुवा खोलामा बेलिब्रिज सञ्चालनमा आएपछि इलाम सदरमुकामबाट झापा हुँदै तराईका विभिन्न स्थानमा आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधनलाई सहज हुने भएको छ । साथै, स्थानीय उत्पादनको ढुवानी, दैनिक उपभोग्य सामग्रीको आपूर्ति तथा व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

सडक डिभिजनका अनुसार बेलिब्रिज सञ्चालनमा आएसँगै उक्त सडक खण्डमा यातायातको आवागमन नियमित बनाउनेतर्फ थप सहजता भएको छ । दीर्घकालीन रूपमा भने स्थायी पुल तथा सडक संरचनालाई सुरक्षित र दिगो बनाउने काम आवश्यक रहेको स्थानीयको भनाइ छ ।