काठमाडौँ — हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले आवश्यक तयारी पूरा गरेको छ। आज भदौ २९ गते बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ।
भक्तजनको सहज दर्शनका लागि कोषले चारवटा छुट्टाछुट्टै दर्शन मार्गको व्यवस्था गरेको छ। मित्रपार्क–उमाकुण्डतर्फबाट आउने भक्तजनका लागि पहिलो मार्ग, जयवागेश्वरीतर्फबाट आउनेका लागि दोस्रो, सिनामङ्गल तथा विमानस्थलतर्फबाट आउनेका लागि तेस्रो र पिङ्गलास्थानतर्फबाट आउने भक्तजनका लागि चौथो मार्ग तोकिएको छ।
मन्दिर बाहिर पाँचवटा लाइन रहने र मन्दिर परिसरभित्र प्रवेश गरेपछि भक्तजनलाई आठवटा लाइनमा विभाजन गरिने कोषले जनाएको छ। एकपटकमा आठ जना भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ। सामान्य अवस्थामा करिब आधा घण्टामा दर्शन गरेर फर्किने गरी व्यवस्थापन गरिएको छ भने बढीमा दुई घण्टाभित्र दर्शन गरिसक्ने गरी लाइन व्यवस्थापन गरिएको छ।
पशुपति क्षेत्रमा शान्तिसुरक्षाका लागि नेपाल प्रहरीसँगको समन्वयमा शनिबारदेखि नै सादा पोशाकका प्रहरी परिचालन गरिएको छ। मेला अवधिभर करिब चार हजार सुरक्षाकर्मी परिचालन हुनेछन्। त्यस्तै, २४ वटा धार्मिक तथा सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक पनि परिचालन गरिएको छ।
कोषले पशुपति क्षेत्रमा कम्तीमा सात लाख भक्तजन आउने प्रारम्भिक अनुमान गरेको छ। धेरै मानिसको भीड हुने भएकाले बहुमूल्य गरगहना नलगाई आउन तथा साना बालबालिकालाई सकेसम्म मन्दिरमा नल्याउन कोषले आग्रह गरेको छ।
भक्तजनका सवारी साधन पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर तथा गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ।
जुत्ताचप्पल राख्न वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी र वाग्मतीपारि राममन्दिरमुनिलगायत स्थान तोकिएका छन्। नाचगान तथा भक्ति सङ्गीतका लागि हंसमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी र मित्रपार्क क्षेत्रमा व्यवस्था गरिएको छ।
तीजका अवसरमा पशुपति क्षेत्रमा चक्रपथ सडक बन्द नगरी सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरेर भीड व्यवस्थापन गरिने कोषले जनाएको छ। नित्य दर्शनमा आउने भक्तजनलाई बिहान ६ बजेअघि नै दर्शन गरिसक्न आग्रह गरिएको छ। बिहान ६ बजेपछि महिला भक्तजनको भीड बढ्ने भएकाले पुरुष दर्शनार्थीलाई यस्तो आग्रह गरिएको हो।
दर्शनार्थीका लागि सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा चन्दन वितरणको व्यवस्था गरिएको छ। हरितालिका तीजका अवसरमा आज पशुपतिनाथसहित देशभरका शिवालयमा पूजा तथा दर्शन गर्न भक्तजनको भीड लागेको छ।


