उत्कृष्ट सहरी व्यवस्थापनका लागि सबै सुरक्षा निकायबीच सहकार्य आवश्यक छ : कार्यवाहक प्रमुख डंगोल

Headlines समाचार

काठमाडौं । काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर प्रहरी बललाई काठमाडौंको सुव्यवस्थापनका लागि अहोरात्र खटिने संयन्त्रका रूपमा अघि बढाउनुपर्ने बताएकी छन्।

आइतबार महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहमा बोल्दै डंगोलले महानगर प्रहरी बल महानगरपालिकाको संगठन र संरचना मात्र नभई काठमाडौंलाई अनुशासित र व्यवस्थित बनाउन नागरिकले भरोसा गरेको संयन्त्र भएको बताइन्।

उनले भनिन्, ‘महानगर प्रहरी बल काठमाडौं महानगरको संगठन र संरचना मात्रै होइन। यो त सुव्यवस्थापनमा दृढताका साथ अगाडि बढ्ने, अहोरात्र खटिने कामको संयन्त्र हो। काठमाडौंलाई अनुशासित र व्यवस्थित बनाउन नागरिकले भरोसा गरेको एउटा संयन्त्र हो।’

महानगर प्रहरी ऐन, नियम र आदेशको पालना गराउने काममा मात्र सीमित नभएको भन्दै उनले मानवीय सेवाका क्षेत्रमा समेत महानगर प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताइन्।

उनले भनिन्, ‘हाम्रो महानगर प्रहरी केवल ऐन, नियम र आदेशको पालना मात्र गर्नेमा सीमित रहेको छैन। यहाँहरूले मानवतामा आधारित रहेर सहर निर्माण गर्ने, असहायलाई सहायता दिने, सहरी स्वच्छता र सरसफाइमा काम गर्ने, विपद्का समयमा अग्रपंक्तिमा रहेर काम गरेको छ।’

महानगर प्रहरीका यस्ता गतिविधिले काठमाडौं महानगरपालिकाको सार्वजनिक छविलाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको डंगोलले बताइन्।

उनले महानगरपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीलगायत सम्पूर्ण सुरक्षा निकायसँग गर्ने सहकार्यलाई आगामी दिनमा थप रणनीतिक र परिणाममुखी बनाउनुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले गर्ने सहकार्य नगर प्रहरीसँगसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीलगायत सम्पूर्ण सुरक्षा निकायहरूसँग गर्ने साझेदारी अब रणनीतिक र परिणाममुखी हुन जरुरी छ। जसमा हामी साझा रूपमा अघि बढौँ भन्ने आग्रह गर्छु।’

विकास साझेदार तथा सुरक्षा निकायका आ–आफ्नै अधिकार र सीमा भए पनि उत्कृष्ट सहरी व्यवस्थापनका लागि सेवा भावलाई सीमित गर्न नहुने उनको भनाइ छ।

उनले भनिन्, ‘विकास साझेदार र सुरक्षा निकायका आफ्नै अधिकार र सीमा छन्। तर हामी चाहन्छौँ, उत्कृष्ट सहरी व्यवस्थापनमा हाम्रो सेवाभावलाई सीमाले छेक्नु हुँदैन।’