भदौ २५ गते मात्रै १७ करोड २५ लाख रुपैयाँ र २ लाख ७४ हजार डलर थपियो
काठमाडौं — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड ३३ लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म कोषमा उक्त रकम मौज्दात रहेको हो।
कार्यालयका अनुसार विभिन्न नौवटा बैंकमा कोषको नेपाली रुपैयाँतर्फ ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ मौज्दात छ। त्यस्तै, दुईवटा बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ।
नेपाली रुपैयाँ र अमेरिकी डलर खातामा रहेको रकमको रुपैयाँमा गरिएको हिसाब जोड्दा कोषमा कुल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ उपलब्ध रहेको कार्यालयले जनाएको छ।
भदौ २५ गते मात्रै कोषमा नेपाली रुपैयाँतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रुपैयाँ थपिएको छ। सोही दिन अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर संकलन भएको कार्यालयको विवरणमा उल्लेख छ।
भोटेकोशी बाढीपछि कोषमा सहयोग आउने क्रम बढेको हो। विभिन्न संघसंस्था, निजी क्षेत्र, सरकारी निकाय तथा स्वदेश र विदेशबाट सहयोग रकम जम्मा हुँदै आएको छ। यसअघि पनि कोषमा ठूलो रकम संकलन भएको विवरण सार्वजनिक हुँदै आएको थियो। कान्तिपुरले भदौ ११ गतेसम्म कोषमा ११ अर्ब ५ करोडभन्दा बढी मौज्दात रहेको जनाएको थियो।
सरकारले भोटेकोशी बाढीबाट प्रभावितका लागि यही कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि सरकार तथा विभिन्न निकायले स्रोत परिचालन गरिरहेका छन्।
कोषमा रकम बढ्दै गएसँगै प्रभावित क्षेत्रमा यसको प्रभावकारी र पारदर्शी उपयोगलाई पनि महत्त्वपूर्ण मानिएको छ। उद्धार तथा राहतको तत्कालीन आवश्यकता पूरा गरेपछि पुनःस्थापना र पुनर्निर्माणमा समेत पर्याप्त रकम परिचालन गर्नुपर्ने अवस्था छ।
सरकारले विपद् प्रभावितका लागि राहत तथा सहायता वितरणमा एकद्वार प्रणाली अपनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जम्मा गर्न आह्वान गर्दै आएको छ।


