नुवाकोट, भोटेकोशी नदीमा भीषण बाढी आएको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारबाट एक महिलाको जीवितै उद्धार गरिएको छ।
बाढीपछि बेपत्ता रहेकी विदुर नगरपालिका–१० की ६४ वर्षीया चण्डिका श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट शनिबार जीवितै उद्धार गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपालका प्रहरी निरीक्षक सुमन बिकको कमान्डमा खटिएको टोलीले श्रेष्ठको उद्धार गरेको जनाएको छ। उद्धारका क्रममा उनी अचेत अवस्थामा भेटिएकी थिइन्।
उद्धारपछि श्रेष्ठलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक ल्याइँदैछ। त्यहाँ प्रारम्भिक उपचारपछि आवश्यकताअनुसार थप उपचारका लागि उनलाई काठमाडौं लगिने जनाइएको छ।


