बेत्रावतीबाट जीवित उद्धार गरिएकी महिलाको छाउनी अस्पतालमा उपचार हुँदै

Headlines समाचार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारबाट एक महिलाको जीवित उद्धार गरिएको छ ।

नुवाकोटको विदुर नगरपालिका–१० निवासी ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले शनिबार उद्धार गरेको हो । उनलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पतालमा ल्याइएको शसस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता नरेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

‘६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरी उपचारका लागि छाउनी अस्पताल ल्याएका छौं । उहाँको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले जाँच गरिरहनुभएको छ,’ उनले भने ।

सशस्त्र प्रहरीका इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको टोलीले श्रेष्ठलाई अचेत अवस्थामा फेला पारेको थियो ।

भोटेकोशी बाढीको ११ दिनपछि पनि जीवित व्यक्तिको उद्धार हुनुले उद्धार अभियानमा आशाको अर्को किरण थपिएको छ ।