काठमाडौं । गायिका समीक्षा अधिकारीले आउँदो तीजलाई लक्षित गर्दै कृष्णाष्टमीको अवसर पारेर नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ ल्याएकी छिन् । गायक मानस राजको सङ्गीत तथा डा कृष्णहरि बरालको शब्दमा तयार भएको उक्त गीतमा समीक्षासँगै मानसले स्वर दिएका छन् । नरेन्द्र वियोगीको एरेन्ज र मिक्सिङ रहेको उक्त गीतलाई गायक मानस राजकै युट्युब च्यानलमार्फत आज शुक्रबार सार्वजनिक गरिएको छ ।
नेपअसले तयार गरेको तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ को भिडिओलाई मेलबर्नका रमणीय दृश्यमा छायांकन गरिएको छ । अडियो झैँ भिडिओ उत्कृष्ट बनेको छ । डायस्पोरामा निर्माण हुने भिडिओहरू प्राय रहरमा तयार गरिन्छ तर नेपअसले यसलाई व्यवसायिक रुपमै अब्बल बनाएको छ ।
सार्वजनिक गीतको भिडिओमा पुजा क्षेत्री र सायद श्रेष्ठसहित गरिमा रायमाझी, सुरुची सापकोटा, दीक्षा क्षेत्री, रेशा खड्का, आज्ञा राई, डिया अर्याल, श्रीया कँडेल, प्रिशा मास्के, प्रिसियस घिमिरे, अलिना मरासिनासहित बाल कलाकार प्रारम्भ गुरुङ र सन्सा खत्री फिचर्ड छन् ।
भिडिओमा नृत्य निर्देशन र निर्देशन सायद श्रेष्ठको रहेको छ । उनले मेलबर्न नेपाली कला, संस्कृति र भेशभूषाको प्रवद्र्धन गर्न यस्ता गीतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
उनले भने,‘हामीले गीत छायांकन गर्दा यसले हाम्रै नयाँ पुस्तालाई नेपाली कला र संस्कृतिसँग नजिक बनाउँछ भने अस्ट्रेलियनले पनि नेपाली परम्परालाई बुझ्ने मौका पाउछन । हामीले यहाँ हुने सांस्कृतिक कार्यक्रममा नेपाली भेषभूषालाई प्रवद्र्धन गर्ने गरेका छौँ ।’
निर्देशक श्रेष्ठ मेलबर्नमा रहेर नेपाल कलासँग जोडिएका विभिन्न विधामा सक्रिय छन् । यस्तै, तीज गीतमा अभिनय गर्न पाउँदा मोडल पूजा क्षेत्रीले पनि खुसी व्यक्त गरिन् । उनले नेपालमै रहेर तीज मनाएको अनुभव छायांकनका क्रममा भएको बताइन ।
गायक तथा सङ्गीतकार मानस राजले पहिलोपटक तीज गीत तयार गरेका हुन् । ‘यो गीत अडियो र भिडिओ दुवै सशक्त बनेको छ । मेलबर्नमा निकै मेहनत गरेर भिडिओ तयार गरेका छौँ । यस गीतले तीजको कला, संस्कृतिसँगै चाडपर्वको उल्लासलाई व्यक्त गरेको छ’, गायक मानसले भने । ‘भाइरल भइदियो’ गीतमार्फत भाइरल गायकको परिचय बनाएका मानसका फिल्म ‘रेशम फिलिलि’को ‘पारि त्यो डाडामा हेर घाम लाग्यो घमाईलो’, ‘डायरी’को ‘माया मायामा’, ‘हिरो’, ‘लैलै राजकुमारी’ लगायतका गीत चर्चामा छन् ।
भिडिओमा जीवन रसाइली को छायांकन, दिन्सन शाहको सम्पादन र रङ्ग संयोजन रहेको छ । आइक्याच स्टुडियोमा पोस्ट प्रोडक्सन भएको भिडिओलाई नेपअसले तयार गरेको हो ।
प्रदीप दाहाल निर्माता, अन्जन घिमिरे प्रस्तुतकर्ता रहेको भिडिओ निर्माणमा आरएफएम फ्यास्लिटी म्यानेजमेन्ट, लेनवे डम्पिङस एण्ड मोमोले सहयोग गरेका छन् ।


