साल्ट ट्रेडिङले निजी ग्यास प्लान्टबाट एसटिसी सिलिन्डर भर्न थाल्यो, वैकल्पिक मार्गबाट काठमाडौं ल्याइँदै

Headlines अर्थ समाचार

काठमाडौँ — पृथ्वीराजमार्ग अवरुद्ध भएपछि खाना पकाउने ग्यासको आपूर्ति प्रभावित हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशनले निजी ग्यास कम्पनीसँग सहकार्य गरेर आफ्ना सिलिन्डरमा ग्यास भर्न थालेको छ।

धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेपछि पृथ्वीराजमार्ग अवरुद्ध हुँदा साल्ट ट्रेडिङको धादिङ जुगेखोलास्थित एलपीजी प्लान्टमा ग्यासका बुलेट पुग्न सकेका छैनन्। त्यसपछि कर्पोरेशनले मनोज र बाबा ग्यासका प्लान्टसँग सहकार्य गरी आफ्ना खाली सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो।

कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाले पहिलो चरणमा निजी प्लान्टमा भरिएका सिलिन्डर शुक्रबारसम्म काठमाडौं आइपुग्ने बताए। आफ्नै प्लान्टका लागि छुटेका केही ग्यासका बुलेटसमेत निजी प्लान्टतर्फ डाइभर्ट गरिएको उनले जानकारी दिए।

मासिक ६० हजार सिलिन्डर खपत

नेपाल आयल निगमले दिएको सीमित कोटाका कारण साल्ट ट्रेडिङले मागअनुसार ग्यास बिक्री गर्न नसकेको जनाएको छ। निगमले भारतीय आयल कर्पोरेसनबाट ३ हजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेकोमा करिब २ प्रतिशत अर्थात् ५३ बुलेट मात्र साल्ट ट्रेडिङको भागमा परेको छ।

कर्पोरेशनका अनुसार मासिक ५५ हजारदेखि ६० हजारसम्म ‘एसटिसी’ सिलिन्डर खपत हुने गरेको छ।

ग्यास बिक्री वितरणलाई सहज बनाउन कर्पोरेशनले हाल कुपन प्रणाली लागू गरेको छ। कुपन वितरणकै समयमा उपभोक्तालाई ग्यास प्राप्त गर्ने दिनसमेत तोकिने झाले बताए।

६ महिनालाई पुग्ने नुन मौज्दात

साल्ट ट्रेडिङले ६ महिनालाई पुग्ने आयोडिनयुक्त नुन मौज्दात राखेको जनाएको छ। भदौ १७ गतेसम्म कर्पोरेशनका गोदाममा १ लाख २७ हजार ३६१ मेट्रिकटन नुन मौज्दात रहेको झाले जानकारी दिए।

देशभर वार्षिक २ लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको माग हुने गरेको छ। कर्पोरेशनले गत आर्थिक वर्षमा करिब २ लाख १० हजार टन नुन बिक्री गरेको थियो।

चिनीमा पनि बजार हस्तक्षेप

अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढेपछि साल्ट ट्रेडिङले बजारमा हस्तक्षेप गर्दै प्रतिकिलो १०० रुपैयाँमा चिनी बिक्री गरिरहेको छ। निजी क्षेत्रले प्रतिकिलो १३५ रुपैयाँसम्ममा बिक्री गरिरहेका बेला कर्पोरेशनले तुलनात्मक रूपमा सस्तो मूल्यमा चिनी उपलब्ध गराएको हो।

कर्पोरेशनले भदौ ९ गते मात्रै ६०० टन चिनी आयात गरेको थियो। हालसम्म ३ हजार टन चिनी बजारमा पठाइसकेको जनाएको छ।

कर्पोरेशनले चामल, दाल, गेडागुडी र तेललगायत खाद्यान्नको मूल्यसमेत स्थिर राख्न सफल भएको जनाएको छ। विपद् तथा असहज परिस्थितिमा नुन, ग्यासलगायत अत्यावश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित गर्नु संस्थाको मुख्य उद्देश्य रहेको सहायक प्रमुख कार्यकारी अधिकृत झाले बताए।