काठमाडौँ। माछापुच्छ्रे बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकका अध्यक्ष रोशन केसीले उक्त रकम नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
बाढीपहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेपछि बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ। विपत्तिपछि बैंकले प्रभावित नागरिकका लागि खाद्यान्न, ओढ्ने–ओछ्याउनेलगायत दैनिक उपभोग्य राहत सामग्रीसमेत उपलब्ध गराइसकेको जनाएको छ।

उद्धार कोषमा प्रदान गरिएको सहयोगले बाढीपहिरो प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा पुनःस्थापना कार्यमा सहयोग पुग्ने बैंकको विश्वास छ।
बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक तथा समुदायलाई राहत र सहयोग प्रदान गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि समुदायको हित र विपद् प्रभावित नागरिकको सहयोगका लागि आवश्यक पहललाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ।


