‘सारथी’ को टिजर सार्वजनिक

मनोरंजन

काठमाडौं । वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको सिनेमा ‘सारथी’को टिजर सार्वजनिक गरिएको छ । कार्तिक २ गते सोमबार परेको निर्देशक कुमार गजुरेलको जन्मदिनको अवसर पारेर सिनेमाको १ मिनेट ७ सकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा काउब्वाय ह्याट, हातमा लालटिन र रहस्यमय हाउभाउ । जङ्गलको अँध्यारो बाटोमा हिँडिरहेका डेव्यु अभिनेता गिरि विश्वकर्मा र अभिनेत्री निरुता सिंहबीचको सम्बन्ध के हो ? गिरिले निरुतालाई ‘आमा’ भनेर सम्बोधन गरेपछि ‘सारथी’को टिजरले दर्शकमाझ कौतूहल बढाएको छ ।

कुमार गजुरेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘सारथी’को टिजरमा लालटिन बोकेर जङ्गलतर्फ लागेका गिरिको रहस्यमय यात्रालाई प्रस्तुत गरिएको छ । यात्रामा देखिने अपरिचित आकृति, अचानक भाग्ने घोडा र त्यसको पछि लाग्ने क्रममा देखिने रहस्यमय दृश्यले टिजरलाई मजबुत बनाएको छ ।

सार्वजनिक टिजरको अन्त्यमा निरुता सिंह देखिनु र गिरिले उनलाई ‘आमा’ भनेर सम्बोधन गर्नुले सिनेमाको कथाबारे दर्शकमाझ विभिन्न प्रश्न उब्जाएको बुझिन्छ । निरुता सिनेमामा गिरिको आमाको भूमिकामा छिन् ? उनीहरूबीचको सम्बन्ध कस्तो छ ? सिनेमाको कथा मातृत्व, विछोड र पारिवारिक सम्बन्धको वरिपरि केन्द्रित छ ? टिजरले यी प्रश्नको जवाफ खुलाएको छैन् । यद्यपि, दृश्य र भावनात्मक संकेतमार्फत सिनेमाप्रति दर्शकको उत्सुकता जगाउने प्रयास गरिएको छ ।

अनुप बरालको एक्टर्स स्टुडियोमा अभिनय प्रशिक्षण लिएका गिरि विश्वकर्मा रङ्गमञ्च हुँदै सिनेमामा डेव्यु अभिनेताका रूपमा प्रस्तुत भएका छन् । लामो समयपछि निरुता सिंह र उत्तम प्रधानलाई एउटै सिनेमामा देख्न पाउनु पनि ‘सारथी’को अर्को आकर्षण हो ।

सिनेमामा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय छ ।

किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् ।

संकल्प भुजेलको छायांकन रहेको सिनेमामा राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा छन् । बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको सिनेमामा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर छ ।

श्याम कार्की आर्ट डाइरेक्टर र गोविन्द खड्का ड्रेस कोअर्डिनेटर रहेको सिनेमाको वितरण आरआर फिल्मस्ले गर्नेछ । आगामी मंसिर ११ गते (नोभेम्बर २७) देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ ।