काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका २६१ विदेशी पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार शनिबार साँझसम्म विभिन्न १६ देशका २६१ पर्यटकको उद्धार गरिएको हो।
बाढीमा परी गोसाइँकुण्ड र कैलाश मानसरोवरतर्फ गएका पर्यटक सम्पर्कविहीन भएका थिए। विभिन्न कम्पनीमार्फत ती क्षेत्रमा पुगेका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले जानकारी दिए।
उद्धार गरिएकामध्ये भारतका १६७, चीनका ४०, युक्रेनका आठ, जर्मनीका चार, माल्टाका चार, इटालीका तीन, अमेरिका र रुसका दुई–दुई तथा बेल्जियम, बुल्गेरिया, ओमान, पोर्चुगलका एक–एक जना छन्।

त्यस्तै, स्पेन, स्वीट्जरल्यान्ड र टर्कीका दुई–दुई पर्यटकको पनि उद्धार गरिएको छ। देश तथा परिचय नखुलेका थप २१ पर्यटक समेत उद्धार गरिएको बोर्डले जनाएको छ।
बाढीपछि अझै ३२० पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डले जनाएको छ। प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोज तथा उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका अन्य निकाय परिचालन भएका छन्।
घाइते तथा अलपत्र पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ। बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै पर्यटक तथा सम्बन्धित सबैलाई धैर्य र सतर्क रहन आग्रह गरेको छ।
आपत्कालीन अवस्था वा सहयोग आवश्यक परे टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न बोर्डले आग्रह गरेको छ।


