सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

Sticky News अर्थ समाचार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाको काम नतिजा नआएसम्म जारी रहने बताएका छन्। उनले राज्यका सबै संयन्त्रको पहिलो प्राथमिकता प्रभावित नागरिकको जीवनरक्षा रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत बाढीले रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएको भन्दै सरकार गम्भीर रहेको बताएका हुन्। बाढी आएलगत्तै प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र पारिएको उनको भनाइ छ।

संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीसँग निरन्तर समन्वय, सहकार्य र सहजीकरणमा उद्धार तथा राहतका काम अघि बढाइएको उनले बताएका छन्।

उनका अनुसार प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका बाबजुद शनिबार साँझ ५ः३० बजेसम्म प्रभावित क्षेत्रबाट ७ हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको छ। बाँकीको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली परिचालित छ।

सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारमा भारत र चीनबाट आएका विशेषज्ञ पनि नेपाली सेनासँगको समन्वयमा खटिएका छन्।

उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको छ। ती हेलिकप्टरले हालसम्म २३६ उडान गरिसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्रीले बताएका छन्।

प्रभावित क्षेत्रमा परिचालन हुने सुरक्षाकर्मीको संख्या बढाउँदै लगिएको र थप हेलिकप्टर तयारी अवस्थामा राखिएको उनले बताएका छन्। तर भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान गर्न नसकिएको उनको भनाइ छ।

उद्धारका क्रममा ज्यान जोखिममा राखेर खटिएका सुरक्षाकर्मीको मनोबल उच्च राख्न दैनिक खाजा खर्च तथा प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णय गरिएको प्रधानमन्त्रीले बताएका छन्। आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट समेत सहयोग लिइरहेको उनले उल्लेख गरेका छन्।

गम्भीर घाइतेलाई काठमाडौं ल्याएर उपचार

सरकारले प्रभावित क्षेत्रबाट उद्धार गरिएका गम्भीर घाइतेलाई काठमाडौंका विभिन्न अस्पतालमा ल्याएर उपचार गरिरहेको प्रधानमन्त्रीले बताएका छन्। अन्य घाइतेको उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल सञ्चालन गरिएको छ।

काठमाडौंंबाट गएका विशेषज्ञसहितका मेडिकल टोलीले ती अस्पतालमा उपचार गरिरहेका छन्। त्यस्तै, काठमाडौंंबाट गएका चिकित्सकसहितका टोलीले धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल र हेली क्षेत्रमा दुई गरी पाँच स्थानबाट स्वास्थ्य सेवा दिइरहेका छन्।

घाइते तथा उनीहरूका परिवारका सदस्यलाई मनोसामाजिक परामर्शसमेत दिइरहेको प्रधानमन्त्रीले बताएका छन्। अस्पतालमा रगतको सहज उपलब्धताका लागि सरकारले ‘रक्त सूचना पोर्टल’ सञ्चालन गरेको छ। कुन अस्पतालमा कति रगत उपलब्ध छ भन्ने विवरण पोर्टलमार्फत सार्वजनिक गर्ने व्यवस्था गरिएको छ।

विभिन्न अस्पतालमा उपचाररत घाइते निको भएर घर फर्किने क्रमसमेत सुरु भएको प्रधानमन्त्रीले बताएका छन्।

आठ जिल्लामा ६७५ शव फेला

प्रधानमन्त्रीका अनुसार बाढी प्रभावित रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानबाट हालसम्म ६७५ शव फेला परेका छन्।

फेला परेका शवलाई ‘एयरटाइट ब्याग’मा राखेर व्यवस्थापन गर्ने काम भइरहेको छ। ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार शव व्यवस्थापन गरिने सरकारले जनाएको छ।

पहिचान गर्न नसकिएका शवको डीएनए परीक्षणलगायत अन्य माध्यमबाट भविष्यमा पहिचान गर्न सकिने आधार सुरक्षित राखिनेछ। परिवारले पहिचान गरेका शव भने सम्बन्धित परिवारलाई जिम्मा लगाउने व्यवस्था गरिएको प्रधानमन्त्रीले बताएका छन्।

रसुवामा तीन, नुवाकोटमा १५ शिविर

प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेबाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहको समन्वयमा रसुवामा तीन र नुवाकोटमा १५ वटा शिविर स्थापना गरिएको छ।

संघीय सरकारले ती शिविरमा राहत सामग्री निरन्तर पठाइरहेको छ। नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाका संयन्त्र पनि राहत तथा उद्धार कार्यमा परिचालित छन्।

बाढीका कारण विस्थापित करिब ३ हजार ५०० जनालाई तत्काल बसोबासको व्यवस्था मिलाइएको छ। विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको सरकारले जनाएको छ।

चार स्थानमा राहत सामग्री संकलन

प्रभावित नागरिकका लागि खाद्य तथा दैनिक उपभोग्य सामग्री सहज रूपमा उपलब्ध गराउन सरकारले राहत सामग्री संकलन तथा वितरण गरिरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेयरहाउस, काठमाडौं जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र र बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री संकलन भइरहेको छ।

संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्‍याइँदैछ। मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय तथा रसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेकमा समेत सामग्री पठाउने गरिएको छ।

जिल्लामा पुगेका राहत सामग्री सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षाकर्मी तथा अन्य सरोकारवाला सम्मिलित समितिले प्रभावित क्षेत्रमा पुर्‍याएर वितरण गरिरहेको छ।

शनिबार एमआई–१७ हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चे पुर्‍याइएको छ। स्थलमार्गबाट पनि अत्यावश्यक खाद्य तथा गैरखाद्य राहत सामग्री धुन्चे र उत्तरगया गाउँपालिकामा पठाइएको छ।

विभिन्न संघसंस्था तथा सहयोगी निकायले सम्बन्धित जिल्ला प्रशासन कार्यालयका सम्पर्क विन्दुमा राहत सामग्री पठाउने क्रम जारी राखेका छन्।

१६१ बीटीएस टावर सञ्चालनमा

बाढीका कारण प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पनि अवरुद्ध भएको थियो। नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बीटीएस टावर सञ्चालनमा रहेकामा बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो।

कतिपय टावरमा भौतिक क्षति पुगेको थियो भने कतिपयमा ऊर्जा अभावका कारण सेवा अवरुद्ध भएको थियो। सरकारले हेलिकप्टर तथा सडकमार्गबाट इन्धन, सोलार प्यानल र जेनेरेटर पुर्‍याएर टावर पुनः सञ्चालनमा ल्याएको जनाएको छ।

हालसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ गरी १६१ वटा टावर सञ्चालनमा आएका छन्। बाँकी टावर पनि मर्मत गरी चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

रसुवा पुनः राष्ट्रिय सडक सञ्जालमा जोडियो

बाढीले मुख्य सडकमा क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा आवतजावत कठिन बनेको थियो। सरकारले वैकल्पिक सडक सञ्चालन तथा क्षतिग्रस्त सडक मर्मत गरी सडक सम्पर्क पुनःस्थापित गरिरहेको जनाएको छ।

काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड साना चारपाङ्ग्रे सवारी सञ्चालन हुने गरी मर्मत गरिएको छ। यो सडकखण्ड खुलेसँगै रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ।

यस्तै, पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखुको १३ किलोमिटर सडकखण्डमा थुप्रिएको लेदो हटाएर राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ।

धादिङबेँसी जाने वैकल्पिक सडकसमेत सञ्चालनमा आएको छ। परेवाटार–नेपालटार–गजुरीटार–पीपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएपछि धादिङबेँसी पुनः सडक सञ्जालसँग जोडिएको सरकारले जनाएको छ।

प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यमा कुनै कसर बाँकी नराखिने बताएका छन्। प्रभावित नागरिकको जीवनरक्षा, घाइतेको उपचार, विस्थापितको व्यवस्थापन र आवश्यक राहत पुर्‍याउने कामलाई प्राथमिकताका साथ निरन्तरता दिइने उनको भनाइ छ।