विश्व फिनटेक मञ्चमा नेपालको आइमार्क, ‘बेस्ट पेमेन्ट्स सोलुसन’मा मनोनयन

बैंक/वित्त

काठमाडौं । नेपालको डिजिटल भुक्तानी क्षेत्रमा काम गर्दै आएको आइमार्क प्रालि विश्व चर्चित फिनटेक सम्मेलन ग्लोबल फिनटेक फेस्ट (जीएफएफ) २०२६ को ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा मनोनयनमा परेको छ।

भारतको मुम्बईमा सेप्टेम्बर ८ देखि ११ गतेसम्म हुने जीएफएफमा विश्वभरका बैंक, वित्तीय संस्था, केन्द्रीय बैंक, नियामक, फिनटेक कम्पनी, स्टार्टअप तथा प्रविधि क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन्।

‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा आइमार्कसँगै क्याम्सपे, बैंक अफ इन्डिया, स्प्रिन्टपीजीएक्स र इन्भ्वाइसमार्ट लगायतका कम्पनी सर्टलिस्टमा परेका छन्। गत वर्ष यो अवार्ड भारतीय डिजिटल भुक्तानी कम्पनी पेटिएमले पाएको थियो।

नेपाली कम्पनी अन्तर्राष्ट्रिय फिनटेक अवार्डको महत्वपूर्ण विधामा छनोट हुनु नेपालको डिजिटल भुक्तानी क्षेत्रका लागि उपलब्धिका रूपमा हेरिएको छ।

यस वर्षको जीएफएफको मुख्य विषय ‘पोटेन्सियल टु इम्प्याक्ट’ रहेको छ। सम्मेलनमा एजेन्टिक एआई, टोकनाइजेसन र क्वान्टम प्रविधिका साथै डिजिटल भुक्तानी, वित्तीय समावेशीकरण, जोखिम व्यवस्थापन, डेटा र डिजिटल रूपान्तरणबारे छलफल हुनेछ।

आयोजकका अनुसार जीएफएफमा एक लाखभन्दा बढी सहभागी, पाँच हजारभन्दा बढी संस्था, चार हजार पाँच सयभन्दा बढी स्टार्टअप र एक हजारभन्दा बढी वक्ता सहभागी हुने अपेक्षा गरिएको छ। सम्मेलनमा ८० भन्दा बढी देशका प्रतिनिधि र ८० भन्दा बढी नियामकको सहभागिता रहनेछ।

ग्राहककेन्द्रित सेवामा जोड

आइमार्कले सुरक्षित, भरपर्दो र नवीन डिजिटल भुक्तानी समाधान विकास गर्दै आएको जनाएको छ। कम्पनीले ग्राहककेन्द्रितता, चुस्तता, उत्कृष्टता, सहकार्य, पारदर्शिता र निरन्तर सुधारलाई आफ्नो कार्यसंस्कृतिको आधार बनाएको छ।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रामप्रसाद ढुङ्गानाले टोलीको मेहनत तथा ग्राहक र साझेदारको विश्वासका कारण अन्तर्राष्ट्रिय फिनटेक मञ्चमा नेपालको प्रतिनिधित्व गर्न सफल भएको बताए।

आइमार्कको मनोनयनले नेपाली डिजिटल भुक्तानी प्रविधि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुग्न थालेको देखाएको छ। यसले नेपालमा विकास भइरहेका भुक्तानी प्रविधि र डिजिटल सेवाको सम्भावनालाई विश्व फिनटेक क्षेत्रमा चिनाउने अवसरसमेत दिएको छ।