काठमाडौं । विद्यार्थीको सुरक्षा र सुविधालाई केन्द्रमा राख्दै काठमाडौंमा सञ्चालित निजी होस्टेलको व्यवस्थापनमा प्रशासनले कडाइ गरेको छ। जिल्ला प्रशासन कार्यालयले होस्टेल सञ्चालकलाई दर्तादेखि सुरक्षा, शुल्क, पूर्वाधार, सरसफाइ र अनुशासनसम्मका व्यवस्था सुधार गर्न एक महिनाको समय दिएको छ।
प्रशासनले जारी गरेको २१ बुँदे व्यवस्थाले होस्टेल सञ्चालनलाई केवल आवासको विषयमा सीमित नगरी विद्यार्थीको सुरक्षा र मर्यादित वातावरणसँग जोडेको छ। होस्टेल सञ्चालकले सम्बन्धित निकायमा दर्ता तथा नवीकरण गर्नुपर्ने, शुल्क र दररेट सार्वजनिक गर्नुपर्ने तथा विद्यार्थी र सञ्चालकबीच अनिवार्य सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ।
घर भाडामा लिएर होस्टेल सञ्चालन गर्नेले घरधनीसँग समेत सम्झौता गर्नुपर्नेछ। सञ्चालक, वार्डेन र होस्टेलमा बस्ने विद्यार्थीको अद्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्नेछ। कोठा र शौचालयबाहेकका स्थानको सुरक्षाका लागि सीसीटीभीको व्यवस्था गर्नुपर्ने तथा चौबिसै घण्टा जिम्मेवार वार्डेन र सुरक्षाकर्मी राख्नुपर्ने व्यवस्था गरिएको छ।

प्रशासनले होस्टेलभित्र लागुऔषध, मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ। विद्यार्थीलाई सुरक्षित र मर्यादित वातावरणमा राख्नुपर्ने तथा विद्यार्थीले पनि अनुशासन पालना गर्नुपर्ने सूचनामा उल्लेख छ।
होस्टेलको शुल्कमा पनि पारदर्शिता
प्रशासनले होस्टेल सञ्चालकले मनलाग्दी शुल्क लिन नपाउने व्यवस्था गरेको छ। शुल्क तथा दररेट स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्ने र सोहीअनुसार मात्र रकम लिनुपर्नेछ।
यससँगै विद्यार्थी र सञ्चालकबीच हुने सम्झौतामा सेवा, सुविधा तथा अन्य आवश्यक विषय स्पष्ट पार्नुपर्ने व्यवस्था गरिएको छ। यसले होस्टेल शुल्क र सेवासम्बन्धी विवाद कम गर्ने प्रशासनको उद्देश्य देखिन्छ।
पढाइसँगै सुरक्षा र सुविधा
होस्टेलमा पर्याप्त हावा र प्रकाश पुग्ने कोठा, पुस्तकालय तथा अध्ययन कक्षको व्यवस्था गर्नुपर्नेछ। शुद्ध खानेपानी, विद्युत् र इन्टरनेटको वैकल्पिक व्यवस्था पनि मिलाउनुपर्नेछ।
आगलागी तथा अन्य आकस्मिक घटनाका लागि फायर एक्स्टिङ्ग्विसर र प्राथमिक उपचार सामग्री राख्नुपर्नेछ। आपत्कालीन अवस्थामा सम्पर्क गर्नुपर्ने सरकारी निकायका फोन नम्बर सबैले देख्ने गरी राख्नुपर्ने व्यवस्था गरिएको छ।
होस्टेलमा सरसफाइ र खाद्यान्नको गुणस्तर कायम गर्नुपर्नेछ। विद्यार्थीलाई समय–समयमा मनोरञ्जनात्मक गतिविधिमा सहभागी गराउनुका साथै मर्यादा र अनुशासन कायम गर्न महिनामा कम्तीमा एकपटक प्रशिक्षणको व्यवस्था गर्नुपर्नेछ।
होस्टेल आसपासका छिमेकीलाई असर पर्ने गरी होहल्ला गर्न नहुने व्यवस्था मिलाउन पनि सञ्चालकलाई निर्देशन दिइएको छ।
प्रशासनले तोकेको एक महिनाभित्र यी व्यवस्था पूरा नगर्ने होस्टेल सञ्चालकमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ। यससँगै काठमाडौंका निजी होस्टेलमा विद्यार्थीको सुरक्षा, शुल्क पारदर्शिता र न्यूनतम पूर्वाधारको विषय अब प्रशासनको प्रत्यक्ष निगरानीमा पर्ने भएको छ।
छात्रावास सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना !

