मार्जिन कारोबार विस्तार गर्न दुई ब्रोकरले ३ अर्ब ऋण लिँदै, आम्दानी विविधीकरणमा केन्द्रित

बैंक/वित्त

काठमाडौं । नेपालका दुई ठूला धितोपत्र ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा विस्तार गर्ने उद्देश्यले बैंकबाट ३ अर्ब रुपैयाँ बराबरको ऋण लिने प्रक्रिया अघि बढाएका छन् ।

दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि र कलश स्टक मार्केट प्रालिले अल्पकालीन बैंक कर्जाका लागि क्रेडिट रेटिङ गराएसँगै ऋण लिने बाटो खुलेको हो । परम्परागत रूपमा ब्रोकर कमिसनमा मात्र निर्भर रहँदै आएका यी कम्पनीहरूले पछिल्लो समय ब्याज आम्दानीमार्फत आयको स्रोत विविधीकरण गर्न मार्जिन कर्जा प्रवाहलाई प्राथमिकतामा राखेका हुन् ।

पन्ध्र वर्षदेखि बजारमा सक्रिय दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले २ अर्ब रुपैयाँको अल्पकालीन ऋण सुविधाका लागि रेटिङ गराएको छ । केयर रेटिङ्स नेपालले यस कम्पनीको प्रस्तावित ऋणलाई ‘केयर–एनपी ए३’ रेटिङ प्रदान गरेको छ । हाल १८औँ स्थानमा रहेको यस ब्रोकरले प्राप्त गर्ने ऋण मुख्यतः लगानीकर्तालाई मार्जिन ट्रेडिङ सुविधा उपलब्ध गराउन र कार्यशील पूँजी व्यवस्थापनमा परिचालन गर्ने योजना बनाएको छ ।

आर्थिक वर्ष २०८२÷८३ मा ५४ अर्ब २६ करोड रुपैयाँको कारोबार गरेको यस कम्पनीको नेटवर्थ ५० करोड ३० लाख रुपैयाँ रहेको छ भने ऋणको भार न्यून देखिएकाले थप लगानीका लागि बलियो आधार तयार भएको छ । त्यस्तै, अर्को उदाउँदो ब्रोकर कम्पनी कलश स्टक मार्केटले १ अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको छ ।

छोटो अवधिमै बजार हिस्सा १.१२ प्रतिशत पु¥याउन सफल यस कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर–एनपी ए४ प्लस’ रेटिङ दिएको छ । २०२४ देखि व्यावसायिक कारोबार सुरु गरेको कलशले आफ्नो ग्राहक संख्या करिब १७ हजार ३४० पु¥याएको छ ।

कम्पनीले बैंकबाट सस्तो ब्याजदरमा ऋण लिएर आफ्ना ग्राहकलाई प्रिमियम दरमा मार्जिन सुविधा दिने रणनीति अपनाएको छ । स्टक एक्सचेन्जबाट मार्जिन कर्जा प्रवाहको स्वीकृति पाइसकेको यस कम्पनीको आम्दानीमा हाल ब्रोकर कमिसनको हिस्सा ९६ प्रतिशत रहे पनि आगामी दिनमा ब्याज आम्दानीले वित्तीय सन्तुलन मिलाउने अपेक्षा गरिएको छ ।

नेपाल राष्ट्र बैंकले मार्जिन कर्जामा गरेको नीतिगत लचकता र नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जारी गरेको मार्जिन ट्रेडिङ सुविधा निर्देशिकाका कारण ब्रोकरहरू यो सेवातर्फ आकर्षित भएका हुन् । राष्ट्र बैंकले बैंकहरूको एकल ग्राहक कर्जा सीमा बढाउनुका साथै सेयर कर्जाको जोखिमभार १०० प्रतिशतमा झारेपछि बैंकहरूलाई पनि ब्रोकरमार्फत कर्जा प्रवाह गर्न सहज भएको छ ।

यसका साथै सरकारले आगामी दिनमा सेयर बजारमा सर्ट सेलिङ र इन्ट्राडे कारोबार सुरु गर्ने तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा प्रवेश दिने नीति लिएकाले पनि बजारमा तरलता र कारोबार बढ्ने र मार्जिन कर्जाको माग उच्च हुने आँकलन गरिएको छ । तर, मार्जिन कारोबारको विस्तारसँगै ब्रोकर कम्पनीहरूको जोखिम पनि बढ्ने देखिएको छ ।

बजारमा हुने तीव्र उतारचढावले कमिसन र ब्याज आम्दानी दुवैलाई प्रभावित पार्न सक्ने भएकाले कर्जा जोखिम र तरलता व्यवस्थापनमा ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ । ब्रोकरमार्फत प्रवाह हुने यो थप ३ अर्ब रुपैयाँको कर्जाले दोस्रो बजारमा पुँजीको उपलब्धता बढाउनुका साथै समग्र बजारको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास गरिएको छ ।