नोटबन्दीबारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

Headlines आर्थिक

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे कुनै तयारी वा योजना नरहेको स्पष्ट पार्नुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकले नोटबन्दी किन नगर्ने भन्ने प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा स्पष्ट पार्नुभएको हो।

उहाँले अहिलेको अवस्थामा नोटबन्दी उपयुक्त विकल्प नभएको बताउनुभयो। “नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,” उहाँले भन्नुभयो।

अर्थमन्त्री वाग्लेले नोटबन्दीको अभ्यास गरेका अन्य मुलुकहरूको अनुभव पनि सन्तोषजनक नरहेको बताउनुभयो। ती मुलुकमा नोटबन्दीबाट अपेक्षित सफलता हासिल भएको नदेखिएको उहाँको भनाइ थियो।

उहाँले सरकारको प्राथमिकता आर्थिक गतिविधिलाई प्रभावकारी बनाउने र अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्नेतर्फ रहेको संकेत गर्नुभयो।