अनलाइन बेटिङ र क्रिप्टो कारोबार नियन्त्रणमा प्रहरीको आक्रामक अभियान, विदेशी नागरिकसमेत धमाधम पक्राउ

अपराध तथा सुरक्षा

काठमाडौं । नेपाल प्रहरीले अनलाइन बेटिङ तथा क्रिप्टोकरेन्सी कारोबार नियन्त्रणका लागि निगरानी र कारबाही तीव्र बनाएको छ। प्रविधिको सहज पहुँचसँगै अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबार बढ्दै गएपछि प्रहरीले बैंकिङ कारोबार, डिजिटल वालेट तथा डिजिटल नेटवर्कको निगरानी बढाएको हो।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अनलाइन बेटिङमा संलग्न ४८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २६ विदेशी र २२ नेपाली नागरिक छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा अनलाइन बेटिङमा संलग्न १४८ जना पक्राउ परेका थिए। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा ६२ जना पक्राउ परेका थिए।

क्रिप्टोकरेन्सी कारोबारतर्फ पनि प्रहरीले कारबाही बढाएको छ। आर्थिक वर्ष २०८२/८३ मा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ४२ जना पक्राउ परेका छन्। उनीहरूमध्ये सात जना विदेशी र ३५ जना नेपाली नागरिक छन्। आर्थिक वर्ष २०८१/८२ मा ११७ जना र २०८०/८१ मा १० जना पक्राउ परेका थिए।

पछिल्लो समय ठूला रकमको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न विदेशी नागरिकसमेत पक्राउ परेका छन्। गत चैत १९ गते प्रहरीले काठमाडौंको ठमेलबाट चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेङलाई पक्राउ गरेको थियो। उनी १७ करोड ७९ लाख रुपैयाँभन्दा बढी बराबरको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ।

त्यसैगरी, गत चैत ११ गते ३० लाख ४९ हजार ७३६ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा बङ्गलादेशी नागरिक २९ वर्षीय मोहम्मद शेहाबुल इस्लाम पक्राउ परेका थिए। चैत २ गते काठमाडौंका सागर गिरी र प्रमोदप्रसाद धिताल पनि क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए।

प्रहरीका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका बेला अनलाइन बेटिङ प्लेटफर्महरू थप सक्रिय हुने गरेका छन्। यस्ता प्लेटफर्ममार्फत हुने कारोबारको नेटवर्क पहिचान गर्न प्रहरीले डिजिटल माध्यमबाट निगरानी गरिरहेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार सम्भावित सट्टेबाजी हुने स्थान, गिरोह र व्यक्तिबारे सूचना संकलनसँगै अनलाइन सट्टेबाजीमा संलग्न नेटवर्कको डिजिटल निगरानी भइरहेको छ। बैंक तथा वित्तीय संस्था र डिजिटल वालेटमार्फत हुने कारोबारमाथि समेत प्रहरीले निगरानी बढाएको छ।

प्रहरीको अनुसन्धानमा अनलाइन बेटिङ केवल सट्टेबाजीमा सीमित नभई साइबर अपराध, ठगी तथा हुण्डी कारोबारसँग समेत जोडिने गरेको पाइएको छ। सामाजिक सञ्जालमार्फत मानिसलाई बेटिङमा आकर्षित गर्ने, रकम जम्मा गर्न लगाउने तथा विभिन्न माध्यमबाट आर्थिक ठगी गर्ने गतिविधि समेत हुने गरेको प्रहरीको भनाइ छ।

नेपालमा क्रिप्टोकरेन्सीको कारोबारलाई समेत कानुनी मान्यता छैन। क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको पुष्टि भएमा प्रचलित कानुनअनुसार कारोबारबाट प्राप्त रकम तथा त्यसबाट बढेको सम्पत्ति जफत हुने र कसुरअनुसार कैद तथा जरिवाना हुन सक्ने व्यवस्था छ।

त्यस्तै, सट्टेबाजीसम्बन्धी कसुरमा प्रयोग भएको बिगो जफत गरी एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहितामा छ।