नेपाल प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंकबाट ५० लाखसम्म घर कर्जा, अवधि २० वर्षसम्म हुने

Headlines बैंक/वित्त

काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच प्रहरी कर्मचारीको तलबी खाता सञ्चालन तथा कर्जा सुविधासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

यसअघि भएको तलबी खाता सञ्चालनसम्बन्धी सम्झौताको अवधि सकिएपछि बैंक र प्रहरीबीच सेवा निरन्तरता दिने गरी नयाँ समझदारी गरिएको हो। नयाँ सम्झौता पाँच वर्षका लागि गरिएको छ। यसअघि तलबी खातासम्बन्धी सम्झौता १० वर्षका लागि गरिएको थियो।

सम्झौताअनुसार नेपाल प्रहरीमा कार्यरत कर्मचारीको तलबी बचत खाता सञ्चालनसँगै बिना धितो पेसाकर्मी सरल कर्जा, घर तथा सवारी कर्जा र अवकाश प्राप्त प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारका लागि पेन्सन वितरण तथा कर्जा सुविधा उपलब्ध हुनेछ।

पेसाकर्मी सरल कर्जाअन्तर्गत प्रहरी कर्मचारीले १५ लाख रुपैयाँसम्म कर्जा पाउनेछन्। पेन्सनर कर्जाको सीमा पाँच लाख रुपैयाँ तोकिएको छ।

बहालवाला प्रहरी कर्मचारी तथा अवकाश प्राप्त, अमर/सहिद र अशक्त प्रहरी कर्मचारीले नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंकको उपभोक्ता कर्जा निर्देशिकाको अधीनमा रही ५० लाख रुपैयाँसम्म घर कर्जा लिन सक्नेछन्। घर कर्जाको अवधि अधिकतम २० वर्षसम्म हुनेछ।

त्यस्तै, सवारीसाधन खरिदका लागि सातदेखि १० वर्षसम्मको अवधिका लागि गाडी कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

सम्झौताअनुसार घर कर्जामा एक प्रतिशत, गाडी कर्जामा १.७५ प्रतिशत र शैक्षिक कर्जामा एक प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ।

प्रहरी कर्मचारीको दुर्घटनामा मृत्यु वा पूर्ण अपांगता भएमा पाँच लाख रुपैयाँको बीमा सुविधा उपलब्ध गराउने व्यवस्था पनि सम्झौतामा गरिएको छ।

खातावाला प्रहरी कर्मचारी दुर्घटनामा परी घाइते भई उपचार गर्नुपर्ने अवस्थामा बीमा प्राधिकरणको निर्देशिकाअनुसार अस्पतालमा बस्दा लागेको खर्च तथा उपचारसम्बन्धी क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए। यसका लागि प्रतिव्यक्ति १०० रुपैयाँ बीमा शुल्क लाग्नेछ।

समझदारी हस्ताक्षर कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सम्झौताले अहोरात्र खटिने प्रहरी कर्मचारीलाई थप उत्प्रेरणा मिल्ने बताए। अवकाश प्राप्त, अमर तथा अशक्त प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवारले समेत सरल तथा सुलभ कर्जा सुविधा पाउने उनले विश्वास व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत खनालले नेपाल प्रहरीसँग बैंकले विभिन्न चरणमा सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने बताए।