काठमाडौं । Nabil Back in Top Gear!—कर्जा गुणस्तरमा उल्लेख्य सुधार गर्दै निस्क्रिय कर्जा (NPL) घटाएपछि नबिल बैंक ले आर्थिक वर्ष २०८२/८३ मा दमदार वित्तीय सफलता प्रस्तुत गरेको छ। बैंकको कुल NPL ४.४८ प्रतिशतबाट ४.२० प्रतिशतमा झर्दा कर्जा नोक्सानी व्यवस्थाको दबाब पनि घटेको छ, जसको प्रत्यक्ष प्रभाव नाफामा देखिएको छ। अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा वार्षिक आधारमा ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २५ प्रतिशतले वृद्धि भएको छ।
नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक नबिल बैंक ले आर्थिक वर्ष २०८२/८३ मा निस्क्रिय कर्जा (एनपीएल) घटाउँदै नाफा र सञ्चालन आम्दानीमा उल्लेख्य सुधार हासिल गरेको छ। अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले कर्जा गुणस्तरमा सुधारसँगै खुद नाफा ३३.५० प्रतिशतले बढाएर ७ अर्ब ९० करोड रुपैयाँ पुर्याएको छ।
बैंकको कुल कर्जा १२.५२ प्रतिशतले बढेर ४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ भने निक्षेप ६ खर्ब रुपैयाँ नाघेको छ। यससँगै वाणिज्य बैंकहरूको कुल कर्जा बजारमा नबिलको हिस्सा करिब ९ प्रतिशतभन्दा माथि पुगेको बैंकले जनाएको छ।

कर्जा विस्तारसँगै बैंकको खुद ब्याज आम्दानी ४.२ प्रतिशतले वृद्धि भई १७ अर्ब रुपैयाँ नाघेको छ। ब्याज तथा गैर–ब्याज आम्दानी दुवैमा सुधार आउँदा कुल सञ्चालन आम्दानी पनि ६.३ प्रतिशतले बढेर २२ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।
बैंकको निस्क्रिय कर्जामा उल्लेख्य सुधार देखिएको छ। कुल निस्क्रिय कर्जा अनुपात (Gross NPL) अघिल्लो वर्षको ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ भने खुद निस्क्रिय कर्जा अनुपात (Net NPL) ०.९५ प्रतिशतबाट ०.५८ प्रतिशतमा सीमित भएको छ। कुल निस्क्रिय कर्जाको करिब ११९.७३ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision Coverage) कायम रहेको बैंकले जनाएको छ, जसले सम्भावित जोखिम व्यवस्थापन र कर्जा गुणस्तर थप मजबुत भएको संकेत गरेको छ।
कर्जा नोक्सानी व्यवस्थामा आएको कमी र सञ्चालन आम्दानीमा सुधारसँगै बैंकको सञ्चालन मुनाफा २५ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। खुद मुनाफा ३३.५० प्रतिशतले वृद्धि भई ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ भने प्रति सेयर आम्दानी (EPS) २८ रुपैयाँ ३६ पैसा कायम भएको छ।
बैंकको वितरणयोग्य मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ। गत वर्षको ३ अर्ब ८५ करोड रुपैयाँबाट बढेर चालु आर्थिक वर्षमा ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जुन करिब ३४ प्रतिशतको वृद्धि हो। प्रति सेयर वितरणयोग्य मुनाफा १९ रुपैयाँ १० पैसा रहेको बैंकले जनाएको छ। यो रकम बैंकले जारी गरेको ८ प्रतिशत परपेचुअल नन–क्युमुलेटिभ प्रिफरेन्स सेयर (PNCPS) को लाभांश व्यवस्थापनपछि बाँकी रहेको वितरणयोग्य नाफा हो।
समग्र वित्तीय सूचकमा सुधारसँगै बैंकको कुल वासलात (Balance Sheet Size) १५ प्रतिशतले वृद्धि भई ७ खर्ब ३४ अर्ब रुपैयाँ नाघेको छ। पूँजी पर्याप्तता अनुपात, सम्पत्तिमा प्रतिफल (ROA) र इक्विटीमा प्रतिफल (ROE) लगायतका प्रमुख सूचकमा पनि सुधार देखिएको बैंकले जनाएको छ।
नबिल बैंक : FY 2082/83 प्रमुख वित्तीय सूचक
| सूचक | आ ब २०८२/८३ | आ ब २०८१/८२ | परिवर्तन |
| खुद नाफा | रु ७.९० अर्ब | रु ५.९२ अर्ब | ▲ ३३.५०% |
| सञ्चालन मुनाफा | रु ११.५६ अर्ब | रु ९.२४ अर्ब | ▲ २५% |
| खुद ब्याज आम्दानी | रु १७ अर्ब+ | रु १६.३३ अर्ब | ▲ ४.२% |
| कुल सञ्चालन आम्दानी | रु २२ अर्ब+ | रु २१ अर्ब | ▲ ६.३% |
| प्रति शेयर आम्दानी (EPS) | रु २८.३६ | रु २१.८९ | ▲ २९.६% |

