काठमाडौं , एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.६० प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले वृद्धि भई ९ अर्ब ४२ करोड ६२ लाख ४० हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ८ अर्ब २ करोड ८ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
नाफामा सुधार आएसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो वर्ष १४.८० रुपैयाँ रहेको ईपीएस गत आर्थिक वर्षमा २०.१८ रुपैयाँ पुगेको छ। बैंकको मूल्य–आम्दानी (पी/ई) अनुपात ११.८५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८१.१५ रुपैयाँ कायम भएको छ।

यद्यपि, बैंकको खराब कर्जा (एनपीएल) भने बढेको छ। अघिल्लो वर्ष ४.११ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा बढेर ४.९१ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७५ करोड ९ लाख ४१ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ। यसका आधारमा बैंकको प्रतिशेयर लाभांश वितरण क्षमता ९.०८ रुपैयाँ रहेको देखिएको छ।
हाल २२ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ९० करोड १७ लाख ३४ हजार रुपैयाँ सञ्चित रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ५९ करोड ८ लाख ६८ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २ अर्ब १८ करोड ४५ लाख ८६ हजार रुपैयाँभन्दा उल्लेख्य बढी हो।
त्यस्तै, कुल सञ्चालन आम्दानी १३ अर्ब ३ करोड ४० लाख ६७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६ अर्ब ११ करोड ७५ लाख ६ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा कुल सञ्चालन आम्दानी १० अर्ब ८८ करोड ४५ लाख १८ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ थियो।
बैंकको व्यवसाय विस्तार पनि निरन्तर बढ्दो क्रममा रहेको छ। गत असार मसान्तसम्म निक्षेप संकलन १२.१७ प्रतिशतले वृद्धि भई ३ खर्ब १५ अर्ब ११ करोड ८४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो।
त्यस्तै, कर्जा लगानी ९.३३ प्रतिशतले बढेर २ खर्ब ४९ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकको कर्जा लगानी २ खर्ब २८ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा बैंकको निक्षेप–कर्जा (सीडी) अनुपात ८२.७७ प्रतिशत कायम रहेको छ।

