नेपाल सरकारले भारतद्वारा अतिक्रमित कालापनी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा बुधबार औपचारिक रूपमा सार्वजनिक गरेको छ। भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मन्त्रालयमा आयोजित कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गरेकी हुन्। नयाँ नक्सामा अतिक्रमित भूमि थपिएपछि ३ सय ३५ वर्ग किलोमिटर क्षेत्रफल थपिएको छ। नयाँ नक्सा सार्वजनिकसँग अब नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार पाँच सय १६ वर्ग किलोमिटर भएको छ। पुरानो नक्साअनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। नयाँ नक्सामा अतिक्रमित क्षेत्रका गुन्जी, नाभी, कुटीलगायत गाउँ समेटिएका छन्।
नापी विभागका अनुसार नयाँ नक्सा प्रशासनिक र राजनीतिक हो। नयाँ नक्सामा ५ सय ५३ स्थानीय तहको नाम छ।
मन्त्री अर्यालले बुधबार सार्वजनिक गरेको नक्सा नापी विभागले तयार गरेको हो। विभागले उक्त नक्सा करिब दुई महिनाअघि नै मन्त्रालयलाई बुझाएको थियो।

भूमि व्यवस्था मन्त्रालयले औपचारिक रूपमा नयाँ नक्सा सार्वजनिक गरेलगत्तै नापी विभागले बुधबार अपराह्नदेखि नै दस हजारप्रति नयाँ नक्सा छाप्न सुरु गरेको छ। विभागको आफ्नै प्रेसमा नयाँ नक्सा छाप्न सुरु गरिएको हो।
भूमि व्यवस्था मन्त्रालयले यसअघि प्रचलनमा आएको नक्साको सट्टा अद्यावधिकसहित बुधबार सार्वजनिक नयाँ नक्सा प्रयोग गर्न सबैलाई आग्रह गरेको छ।
विभागले नयाँ नक्सा आफ्नो वेबसाइटमा पनि राखेको छ। वेबसाइटबाट डाउनलोड गरेर जो कोहीले पनि नयाँ नक्सा प्रयोग गर्न सक्ने व्यवस्था विभागले मिलाएको छ। विभागका एक उच्च कर्मचारीका अनुसार नयाँ नक्सा सार्वजनिक भएकाले अब विभागका प्राविधिकले नेपालको कुल क्षेत्रफल पुनर्मापन गर्न अध्ययन थाल्नेछन्। हाल नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर मानिएको छ।
