गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

समाचार

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानकै आसपास रहेकाले मौसममा यसको प्रभाव देखिएको हो।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

यस्तै,आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली रहने सम्भावना छ भने मधेश र कोशी प्रदेशको तराईमा आंशिक बदली रहनेछ।

त्यस्तै हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान, कोशी र मधेश प्रदेशका केही क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विभागका अनुसार बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा राति भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोला आसपासका बासिन्दा, यात्रु तथा सरोकारवालालाई विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले विभागका पछिल्ला मौसम सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।