काठमाडौं, राजनीतिक स्थिरता, सुशासन, समृद्धि तथा प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यसहित नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच तीन बुँदे राजनीतिक सहमति भएको छ।
सहमतिअनुसार दुवै दलले प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने भएका छन्।
सत्ता बाँडफाँटअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा संयुक्त सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने सहमति भएको छ।

यस्तै, सम्बन्धित प्रदेशका अन्य राजनीतिक दलसँग आवश्यक परामर्श गरी सरकारको नेतृत्व तथा सहभागिताको अन्तिम स्वरूप तय गरिने सहमति भएको नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।
तीन बुँदे सहमतिपत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।

