Management Reshuffle @ Machhapuchchhre Bank : सिद्ध राज अर्याल सिनियर डेपुटी सीईओ, सुभाष जमरकट्टेल डेपुटी सीईओ

बैंक/वित्त

काठमाडौं । माछापुच्छ्रे बैंकले व्यवस्थापन तहमा महत्वपूर्ण पदोन्नति गर्दै प्रसिद्ध राज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (Senior Deputy CEO) तथा सुभाष जमरकट्टेललाई नायब प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) पदमा नियुक्त गरेको छ।

बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा तथा नायब महाप्रबन्धक (डीजीएम) का रूपमा कार्यरत जमरकट्टेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गर्ने निर्णय गरेको हो।

काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन (एमबीए) मा स्नातकोत्तर गरेका अर्यालसँग बैंकिङ क्षेत्रमा करिब दुई दशकको समृद्ध अनुभव छ। उनले कर्जा व्यवस्थापन, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायत बैंकिङका विविध क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। माछापुच्छ्रे बैंकअघि उनले सिभिल बैंक, सनराइज बैंक तथा नेपाल इन्भेष्टमेन्ट बैंकमा समेत विभिन्न व्यवस्थापकीय जिम्मेवारी सम्हालिसकेका छन्।

त्यसैगरी, जमरकट्टेल चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय व्यवस्थापनका अनुभवी व्यवसायिक हुन्। उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (ICAI) बाट चार्टर्ड एकाउन्टेन्सीको उपाधि हासिल गरेका छन्। साथै, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुन विषयमा स्नातक तथा थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) बाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री प्राप्त गरेका छन्।

बैंकका अनुसार अर्याल र जमरकट्टेल दुवैले आफ्नो बैंकिङ करियरमा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गरेका छन्। उनीहरूलाई बैंकिङ क्षेत्रका सक्षम, अनुभवी र परिणाममुखी नेतृत्वकर्ताका रूपमा चिनिने गरिएको छ। बैंकले यी पदोन्नतिले संस्थाको नेतृत्व क्षमता थप सुदृढ हुने तथा आगामी रणनीतिक लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।