मनसुनजन्य विपद्बाट प्रभावित बालबालिकाको संरक्षण र शिक्षा निरन्तरताका लागि तत्काल कदम चाल्न आग्रह

समाचार

काठमाडौं । बालबालिकालाई शान्ति क्षेत्र राष्ट्रिय अभियानले मनसुनजन्य विपद् तथा बालबालिकामाथि हुने दुव्र्यवहार र हिंसाबाट प्रभावित बालबालिकाको संरक्षण, शिक्षा निरन्तरता र जोखिम न्यूनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

अभियानले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद् तथा बालबालिकामाथि भइरहेका विभिन्न प्रकारका दुव्र्यवहार र हिंसाका कारण उनीहरूको जीवन, सुरक्षा, शिक्षा तथा समग्र अधिकारमा गम्भीर असर पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेको हो।

काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा बागमती नदीमा आएको बाढीका कारण परिवारहरू अन्यत्र स्थानान्तरण हुँदा धेरै बालबालिकाका विद्यालय पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री तथा दैनिक उपयोगका सामग्री नष्ट भएको अभियानले जनाएको छ ।

अभियानका अनुसार विपद्बाट प्रभावित बालबालिकालाई तत्काल वैकल्पिक शैक्षिक सामग्री, आवश्यक राहत तथा विद्यालयमा नियमित उपस्थित हुने वातावरण सुनिश्चित गर्न आवश्यक छ ।

त्यसैगरी, सिरहाको गोलबजार नगरपालिका–७ मा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको तथा बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको घटनाप्रति अभियानले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

अभियानले सार्वजनिक स्थल, निर्माण क्षेत्रका जोखिमयुक्त खाल्डाखुल्डी, पानी जम्ने स्थान तथा असुरक्षित संरचनाको उचित व्यवस्थापन नहुँदा बालबालिकाले ज्यान गुमाउनुपर्ने अवस्था अझै रहेको जनाएको छ ।

बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राख्दै बाढी तथा डुबान प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न आवश्यक शैक्षिक तथा आधारभूत सामग्री तत्काल उपलब्ध गराउन, जोखिमयुक्त स्थानको सुरक्षित व्यवस्थापन गर्न र मनसुन अवधिभर बालबालिकाको सुरक्षा तथा उद्धारका लागि स्थानीय तहमा प्रभावकारी पूर्वतयारी र द्रुत प्रतिकार्य संयन्त्र सक्रिय बनाउन अभियानले आग्रह गरेको छ ।

त्यस्तै, विपद्बाट प्रभावित बालबालिकालाई बालमैत्री राहत, स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग तथा आवश्यक संरक्षण सेवा उपलब्ध गराउन र समुदाय, विद्यालय, अभिभावक तथा बालबालिकाबीच विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्न पनि अभियानले माग गरेको छ ।

अभियानका अध्यक्ष तिलोत्तम पौडेलले प्राकृतिक विपद्का समयमा बालबालिकाको जीवन, सुरक्षा, शिक्षा र संरक्षणको अधिकार कुनै पनि अवस्थामा प्रभावित हुन नदिनु राज्य तथा सबै सरोकारवालाको साझा जिम्मेवारी भएको बताएका छन्।