इजरायल जाने नेपाली श्रमिकका समस्या समाधानमा नेपाल–इजरायल सहकार्य, स्वास्थ्य जाँच र भाषा परीक्षामा छलफल

Headlines राजनीति

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बासबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा इजरायल रोजगारीका लागि जाने नेपाली श्रमिकसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटवार्ताका क्रममा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकले भोगिरहेका समस्या समाधानका उपायबारे विशेष रूपमा छलफल भएको थियो। साथै, इजरायल जान इच्छुक श्रमिकका लागि स्वास्थ्य परीक्षण प्रक्रिया र भाषा परीक्षालाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने विषयमा पनि विचार आदान–प्रदान भएको थियो।

छलफलमा दुवै पक्षले श्रमिकको सुरक्षित, व्यवस्थित र सहज वैदेशिक रोजगारी सुनिश्चित गर्न आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यसका लागि नियमित द्विपक्षीय संवादमार्फत देखिएका समस्या समाधान गर्न पहल गर्ने सहमति भएको जनाइएको छ।

मन्त्री यादवले नेपाली श्रमिकको हित र सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै इजरायली पक्षसँग आवश्यक सहकार्यलाई थप सुदृढ बनाइने बताए। राजदूत एरी बासले पनि नेपाली श्रमिकसँग सम्बन्धित विषयमा इजरायल सकारात्मक रहेको र व्यावहारिक समाधानका लागि सहकार्य जारी रहने विश्वास व्यक्त गरेका छन्।