काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शनिबार राति करिब ११ बजे हात्तीको आक्रमणबाट आमा २१ वर्षीया अशिका बोटे र उनका छोरा ४ वर्षीया भरत बोटेको मृत्यु भएको हो ।
हात्तीले घरभित्र सुतिरहेको बेला आशिका र ४ वर्षीया छोरा भरतमाथि आक्रमण गरेको थियो । हात्तीको गम्भीर प्रहारबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवले जानकारी दिए ।
घटनाका क्रममा हात्ती धपाउन खोज्दा थप क्षति भएको छ । आशिका श्रीमान पूर्ण बोटेले हात्तीलाई भगाउने प्रयासमा आगो बाल्दा आफ्नै कच्ची घरमा आगलागी भएको थियो ।

घटनाको जानकारी पाउनासाथ नेपाली सेना र इलाका प्रहरी कार्यालय गीतानगरबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । सुरक्षाकर्मी र स्थानीयको प्रयासमा घरमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।
जंगली हात्ती गाउँबस्तीमा प्रवेश गरेर मानवीय क्षति पु¥याउन थालेपछि चितवन आसपासका स्थानीय बासिन्दा वर्षौंदेखि त्रासपूर्ण जीवन बिताइ रहेका छन् ।
विशेषगरी ‘ध्रुवे’ नामले परिचित जंगली हात्तीले वर्षेनी मानवीय क्षति पु¥याउँदै आएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ‘ध्रुवे’ हात्तीको आक्रमणबाट २०६६ सालदेखि हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । उनका अनुसार ‘ध्रुवे’ले आक्रमण गरेका अधिकांश घटनामा मानिस बाँच्न सकेका छैनन् ।
उक्त हात्तीले २०६६ सालदेखि मानवमाथि आक्रमण गर्न थालेको हो । विशेषगरी ०६९ सालमा यसले धेरै मानवीय क्षति पु¥याएपछि हात्तीलाई नियन्त्रण गर्न र मार्ने आदेशसमेत जारी गरिएको थियो । त्यस क्रममा हात्तीमाथि गोली प्रहार गरे पनि ‘ध्रुवे’ बाँच्न सफल भएको सूचना अधिकारी थापा मगरले जानकारी दिए ।
गोली प्रहारपछि केही वर्षसम्म ‘ध्रुवे’बाट कुनै मानवीय क्षतिको घटना भएनन् । त्यसपछि पुनः आक्रमणका घटनाहरू दोहोरिन थालेका हुन् ।
‘ध्रुवे’को आक्रमणबाट २०७४ सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान गएको थियो । मानवीय क्षतिसँगै उक्त हात्तीले घर, बाली तथा अन्य सम्पत्तिमा समेत ठूलो क्षति पु¥याउने गरेको सूचना अधिकारी थापा मगरले जानकारी दिए ।
जंगली हात्तीबाट हुने मानवीय तथा भौतिक क्षतिका विषय पटक–पटक संसदमा कुरा उठाइए पनि समस्या समाधानतर्फ सरकारको प्रभावकारी ध्यान भने जान सकेको छैन् ।
विशेषगरी ‘ध्रुवे’नामले परिचित जंगली हात्तीको आतंक वर्षौंदेखि हुदै आए पनि यसको नियन्त्रण भने हुन सकेको छैन् । सरकारले समयमै आवश्यक कदम चाल्न नसक्दा चितवनका विभिन्न स्थानीबासीहरु त्रासपूर्ण वातावरणमा बस्न बाध्य छन् ।
हात्तीको आवतजावत नियन्त्रण, जोखिमयुक्त क्षेत्रमा सुरक्षित बासस्थानको व्यवस्थापन गर्न आवश्यक छ । यस्तो समस्या वर्षौंदेखि दोहोरिँदै आए पनि सम्बन्धित निकायबाट पर्याप्त पहल हुन नसक्दा स्थानीयबासिन्दाले यसको प्रत्यक्ष मार खेप्नुपरेको छ ।
पार्वती भण्डारी, नेपाल न्यूज बैंक
