ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

बैंक/वित्त

ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले एक विशेष समारोहका बीच उक्त डिजिटल प्रतियोगिताको विधिवत उद्घाटन गर्नुभएको हो ।

नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको अत्याधुनिक प्रयोगलाई बढावा दिन गत वर्ष पहिलो पटक ह्याकाथन आयोजना गरेको बैंकले यस वर्ष यसको दोस्रो संस्करण सञ्चालन गरेको हो ।

प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगितामा खुला आवेदनमार्फत विभिन्न उत्कृष्ट टोलीहरू छनौट भएका छन् ।

दुई चरणमा सञ्चालन हुने आवसिय प्रतियोगीतामा १४ टोलीहरुको सहभागीता रहेको बैंकले जनाएको छ । जसअन्तर्गत पहिलो चरणमा ३६ घण्टा लामो कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ ।

उक्त ह्याकाथन प्रतियोगीतामा सहभागि टोलीहरुको लागि आवसिय व्यवस्था रहेको छ । साथै, सहभागि प्रतियोगीहरुले ३६ घण्टासम्मको कोडिङ गर्नेछन् ।

सहभागी प्रतियोगीहरूले बैंकद्वारा निर्धारित विभिन्न विधा र विषयहरूमा केन्द्रित रही बैंकिङ सेवालाई अझ बढी सुरक्षित, सरल र प्रविधिमैत्री बनाउने नविनतम् अवधारणाहरु प्रस्तुत गर्नेछन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङका आगामी सम्भावित सेवाहरू र यस क्षेत्रमा देखापर्ने चुनौतीहरूको समाधान पहिल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस प्रतियोगिताबाट छनौट हुने उत्कृष्ट टोलीहरूलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बैंकसँग व्यावसायिक सहकार्यको अवसरसमेत उपलब्ध गराइने जानकारी दिनुभयो ।

विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत हात पारेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले ३४४ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।