लिम्पियाधुरासहितको नेपालको नक्सा पारित

विविध

२०७७ जेष्ठ ०५ : काठमाडौँ –  सरकारले अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको नक्सा पारित गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिनुभयो  ।

‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहनेछ । धन्यवाद प्रम केपी शर्मा ओली,’ पर्यटन मन्त्री योगेश भटराईले सामाजिक सञ्जालमा लेखेका छन् । 

राष्ट्रपतिद्वारा जेठ २ गते प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको सो नेपाली भूमि फिर्ता ल्याउने घोषणा गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेकमा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गरिने बताएकी थिइन् ।

साथै सरकारले लिम्पियाधुरा लगायतको क्षेत्र समेटेर तत्काल नयाँ नक्सा पनि जारी गर्ने भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ । तदनुरुप नै छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।