२०७७ जेष्ठ ०५ : काठमाडौँ – गुल्मीका पहिलो संक्रमित व्यक्तिको अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।
रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा जेठ १ गते भर्ना गरिएका ती बिरामीलाई कोरोना संक्रमण भएको आशंकामा परीक्षण गरिएको थियो ।
‘जेठ २ स्वाब संकलन गरेर पठाइएको थियो । आज रिपोर्ट आएको हो,’ क्रिमसन अस्पतालका मनमोहन भट्टराईले भने, ‘अवस्था गम्भीर भएको कारण भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।’

बिरामी भएपछि केही दिन घरमै रहेका उनलाई वैशाख ३१ गते अर्घाखाँचीको सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा भर्ना गरिएको थियो। पोलिक्लिकिनमा उपचार हुन नसकेपछि थप उपचारका लागि मणिग्रामको क्रिमसन अस्पतालमा पुर्याइएको थियो ।
उनलाई एम्बुलेन्समा हालेर वैशाख ३१ गते राति अस्पताल पुर्याएको थियो । गुल्मी मदानेस्थित बिरामीको घर र अर्घाखाँचीस्थित पोलिक्लिनिक सिल गरिने प्रहरीले जनाएको छ ।
उनी गुल्मीकै एक स्कुलको प्रधानाध्यापक रहेको पनि जनाइएको छ । त्यसैगरी उनीसँग सम्पर्कमा पुगेका सबैको परीक्षण पनि गरिने भएको छ ।
