२०८३ असार १४

‘क्रान्ति आयात–निर्यातको नक्कलले सम्भव छैन’

आर्थिक

काठमाडौं । वर्तमान बालेन सरकारको विकल्पका लागि सबै कम्युनिस्टहरु एक भएर संघर्षको तयारीमा लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

आइतवार राजधानीमा समाजवादी कम्युनिस्ट पार्टीद्वारा ‘नेपाली जनक्रान्तिको अवधारणा’ विषयक अन्तरक्रियामा वक्ताहरुले बालेन सरकार अमेरिकी कठपुतली रहेकोसमेत आरोप लगाए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले विशिष्ट भूराजनीतिक अवस्थाको कारण अहिले नेपालको शत्ता र शक्तिको चाबि प्रत्यक्षरुपमा अमेरिकी हातमा पुगेको दबी गरे ।

‘धेरै पहिलेबाटै रवि–बालेनहरु अमेरिकी योजनामा सिंचित रहेछन्, फ्रि तिब्बतवाला गृहमन्त्री छन्, अनि कसरी उत्पीडितहरुको रक्षा हुन्छ’ ओलीले प्रश्न गरे ।

‘लेनिन विष्ट जस्ताहरुलाई क्रान्तिविरुद्ध अमेरिकाले उचालिरहेको थियो, सुदन गुरुङ त्यत्रो आरोपबाट सहजै मुक्त गराएर गृहमन्त्रीमा पुर्नवहाली गरी मित्र राष्ट्र चीनविरुद्ध प्रयोग हुने खतरा छ,’ ओलीले भने ।

तत्काल सबै क्रान्तिकारी कम्युनिस्टहरु एक भएर वर्तमान सरकारको विकल्पमा जानुपर्ने ओलीको जोड छ ।

नेपाली कम्युनिस्टहरु सैद्धान्तिक गोलचक्करमा मात्रै फसिरहेको र ‘त्यसलाई व्यवहारिक पाटोमा जोडौं’ भन्नेतिर कार्यपत्र हरेको भन्दै सरहाना गरे ।

नेकपा(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले वर्तमान सरकारले भूमिहीन तथा सुकुम्बासीमाथिको दमन कम्युनिस्टहरुको वैचारीक प्रतिबद्धताबाट विमुख र वर्गउत्थानको उपज रहेको जिकिर गरे । ‘यो सरकार पूर्णरुपले विदेशीद्वारा सञ्चालित छ, जसलाई नेपाली जनताको कुनै मतलब छैन, त्यसैले यसको विकल्पका लागि हामीले आन्दोलन गर्नुपर्छ’, बास्तोलाले भने ।

नेपालको विशिष्ट भूराजनीतिक अवस्था रहेको र त्यसै अनुसार नेपाली जनक्रान्ति सम्पन्न गर्न नयाँ रणनीति अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिंदै सबै क्रान्तिकारीहरुलाई एक हुन पनि बास्तोलाले आह्वान गरे ।

समाजवादी कम्युनिस्ट पार्टीका महासचिव पूर्णबहादुर सिंह ‘समरजङ्ग’ले ‘नेपाली जनक्रान्तिको अवधारणा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाली जनक्रान्ति सफल नहुनुको मुख्य कारण बाह्य भन्दा आन्तरिक मुख्य रहेको दाबी गरे ।

सिंहले अवधारणको उदेश्यदेखि निष्कर्षसम्मको ७ बुँदे कार्यपत्रमा असफलताको कारण र त्यसको निकास बारे प्रष्ट पारेका छन् । ‘नयाँ कार्यनीति तथा वैज्ञानिक कार्यदिशाको निरुपण एवम् कार्यान्वयनमा दृढताले मात्रै नेपाली जनक्रान्ति सफल गर्न सकिन्छ’, सिंहले भने ।

क्रान्तिको मोडेल आयात तथा निर्यात नहुने ठोकुवा गर्दै सिंहले भने,‘नेपालमा अरु देशमा गरिएका क्रान्तिका मोडेलको आयात तथा अनुसरण गरिदा बारम्बार धक्का खाइयो, अब मौलिक मोडेलको विकास जरुरी छ ।’

सिंहले सैद्धान्तिक अस्पष्टता, विचार, वर्गविश्लेषण, सङ्गठनात्मक समस्या, कार्यदिशा र कार्यनीतिमा समस्या, विशिष्ट भूराजनीति, सम्झौता र विर्सजन नै नेपाली क्रान्तिका मुख्य समस्या रहेको कार्यपत्रमा उल्लेख गरेका छन् ।

नेकपाका संगठन विभाग प्रमुख कृष्णहरि भट्टले समाजवादी कम्युनिस्ट पार्टीद्वारा अगाडि सारिएको अवधारणाले नागरिक सर्बोच्चताका लागि सघाउ पुगाउने विश्वा रहेको बताए । नेपालको क्रान्ति सम्पन्न नहुनुमा विदेशी हस्तक्षेप मुख्य कारक रहेकोसमेत उनले जिकिर गरे ।

नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले ‘नेपाली जनक्रान्तिको अवधारणा’ विगतको सिंहावलोकन र वर्तमान समयको विशिष्टीकरणमा आधारित रहेको बताउँदै, सो उचित भए पनि अझै समृद्ध गर्नुपर्नेमा जोड दिए ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पुष्प न्यौपानेले सैद्धान्तिक विषयका कुरा गरे पनि व्यवहारिक रुपमा अगाडि बढ्न नसक्दा नेपाली कम्युनिस्टहरु असफल भएको जिकिर गरे ।

समाजवादी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य माधव गौतम‘विनयराज’ले नेपाली कम्युनिस्टहरु एक नभए विदेशीले ‘कम्युनिस्ट मुक्त नेपाल’ बनाउने खतरा रहेको दाबी गरे ।

अखिल नेपाल श्रमिक महासंघका अध्यक्ष विनोद कुमार थापाले वर्तमान सरकारले विदेशी योजनामा नेपाली श्रमिकहरुलाई अधिकार विमुख बनाउन विभिन्न हत्कण्डा अपनाएकोले त्यसविरुद्ध संघर्ष गर्नुपर्ने बताए ।