राजनीतिक दलहरूको उत्पत्ति र विकासको इतिहास मानव सभ्यताको राजनीतिक चेतना, लोकतान्त्रिक मूल्यमान्यता र शासन प्रणालीमा आएको क्रमिक परिवर्तनसँग अभिन्न रूपमा जोडिएको छ । प्राचीन कालमा शासन सत्ता केवल राजा, महाराज वा निश्चित कुलीन वर्गको हातमा सीमित हुन्थ्यो । त्यस समयमा आधुनिक अर्थका राजनीतिक दलहरू नभए तापनि सत्ता प्राप्ति गर्न वा राजालाई सल्लाह दिन विभिन्न ‘गुट’ वा समूहहरू अस्तित्वमा थिए । तर ती समूहहरू निश्चित विचारधारा वा सङ्गठन भन्दा पनि व्यक्तिगत स्वार्थ र शक्तिका लागि केन्द्रित हुन्थे। राजनीतिक दलको आधुनिक स्वरूपको सुरुवात मुख्यतया १७ औं र १८ औं शताब्दीको युरोप, विशेषगरी बेलायतको गौरवमय क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम र फ्रान्सेली राज्यक्रान्तिबाट भएको मानिन्छ ।
नेपालको सन्दर्भमा राजनीतिक दलहरूको विकासक्रम विश्व इतिहासको तुलनामा केही ढिलो सुरु भए तापनि निकै संघर्षपूर्ण र बलिदानपूर्ण रहेको छ। वि।सं। १९९३ मा स्थापना भएको नेपाल प्रजा परिषद्बाट सुरु भएको सङ्गठित राजनीतिक यात्रा आजको संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा धेरै उतार–चढावबाट गुज्रिएको छ । राणा शासनको अन्त्य, पञ्चायत विरुद्धको संघर्ष र जनआन्दोलनले नेपाली दलहरूलाई परिपक्व बनाएको छ ।
आजको विश्वमा राजनीतिक दलहरू केवल सत्ता प्राप्तिको माध्यम मात्र नभई जनताको आवाजलाई राज्यको नीति निर्माणसम्म पु¥याउन सबैभन्दा शक्तिशाली र वैधानिक संस्थाका रूपमा स्थापित भएका छन् । प्रविधिको विकास र बढ्दो चेतनासँगै दलहरूको स्वरूप र कार्यशैलीमा पनि निरन्तर परिवर्तन र परिमार्जन भइरहेको छ ।


दलीय प्रणालीको ऐतिहासिक विकासक्रम
राजनीतिक दलहरूको आधुनिक स्वरूपको बीजारोपण मुख्यतया युरोप र अमेरिकाबाट भएको मानिन्छ। प्राचीन ग्रीस र रोमको शासन व्यवस्थामा आधुनिक अर्थका संस्थागत दलहरू नभए पनि विभिन्न गुटहरूको अस्तित्व स्पष्ट थियो। एथेन्सको प्रत्यक्ष लोकतन्त्रमा कुलीन वर्ग र साधारण नागरिकका बीचमा राजकीय नीतिहरूलाई लिएर तीव्र प्रतिस्पर्धा हुन्थ्यो। रोमन साम्राज्यमा पनि जनता र अभिजात वर्गका पक्षधर बीचको द्वन्द्वले राजनीतिलाई प्रभावित गथ्र्यो। ती समूहहरू प्रायः शक्तिशाली व्यक्तिहरूको व्यक्तिगत प्रभाव, नातावाद वा तत्कालीन स्वार्थमा आधारित स्वार्थ समूह मात्र थिए।
आधुनिक राजनीतिक दलको वास्तविक जननी भने बेलायतलाई मानिन्छ । बेलायतमा १७ औ शताब्दीको गौरवमय क्रान्तिको समयमा राजतन्त्र र संसद्को शक्ति बाँडफाँडलाई लिएर ह्विग र टोरिज जस्ता प्रारम्भिक वैचारिक समूहहरू देखा परे। पहिलो समूहले संसद्को सर्वोच्चता र नागरिक स्वतन्त्रताको पक्ष लियो भने दोस्रो समूहले राजतन्त्र र परम्परागत चर्चको शक्तिको कट्टर समर्थन गथ्र्यो। सुरुमा यी समूहहरू केवल संसद् भित्र मात्र सक्रिय थिए, तर पछि उनीहरूले नै लिबरल र कन्जर्भेटिभ पार्टीको जग बसाले, जसले विश्वलाई पहिलो पटक द्विदलीय प्रणालीको मोडेल दियो ।
अमेरिकाको स्वतन्त्रता संग्राम र त्यसपछिको संविधान निर्माण प्रक्रियाले राजनीतिक दललाई नयाँ उचाइमा पु¥यायो । अमेरिकी संविधान निर्माणका क्रममा फेडरलिस्ट र एन्टी(फेडरलिस्ट समूहबीच बलियो केन्द्र सरकार र राज्यहरूको अधिकारका विषयमा तीव्र वैचारिक मतभेद भयो। त्यसैगरी सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिले राजनीतिक दलको इतिहासमा विचारधाराको नयाँ मानक थपिदियो । राष्ट्रिय सभामा बस्ने आसनको आधारमा राजतन्त्रका समर्थकलाई दक्षिणपन्थी र परिवर्तनका पक्षधरलाई वामपन्थी भन्न थालियो, जसले विश्वभरका दलहरूलाई आफ्नो वैचारिक पहिचान बनाउने आधार प्रदान ग¥यो।
औद्योगिक क्रान्तिले समाजको संरचना नै बदलिदियो, जसले राजनीतिक दलको विकासमा सबैभन्दा प्रभावकारी मोड ल्यायो । कलकारखानाको विकाससँगै श्रमिक वर्गको उदय भयो र युरोपमा श्रमिकहरूका हकहितका लागि ट्रेड युनियनहरू बने, जुन पछि लेबर पार्टी जस्ता राजनीतिक दलका रूपमा रूपान्तरित भए। यस चरणमा दलहरू केवल संसद् भित्रका सीमित एलिट समूह मात्र रहेनन्, बरु उनीहरूले लाखौको संख्यामा साधारण सदस्यहरू बनाउन थाले। माक्र्सवाद र समाजवादको विस्तारले गर्दा दलहरू सङ्गठनात्मक रूपमा अत्यन्तै मजबुत बने र राजनीतिमा आम नागरिकको सहभागिता सुनिश्चित भयो ।
परम्परागत ढाँचाबाट आधुनिक स्वरूपमा रूपान्तरण
विश्वमा राजनीतिक दलहरूको विकासक्रम समाजको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनसँगै विभिन्न चरण पार गर्दै परिष्कृत भएको हो । राजनीतिक दलको विकासको प्रारम्भिक चरणमा दलहरू समाजका उच्च र सीमित वर्गमा मात्र केन्द्रित थिए, जसलाई कुलीन दल भनिन्थ्यो। १८ औ र १९ औ शताब्दीको सुरुतिर मताधिकार केवल धनी, जमिन्दार र शिक्षित वर्गमा मात्र सीमित भएकाले दलहरू संसद् भित्रका प्रभावशाली व्यक्तिहरूको एउटा सानो समूहका रूपमा मात्र अस्तित्वमा थिए। यस्ता दलहरूको कुनै ठूलो सङ्गठनात्मक संरचना वा व्यापक जनसहभागिता हुँदैनथ्यो।
१९ औं शताब्दीको अन्त्य र २० औं शताब्दीको प्रारम्भमा औद्योगिक क्रान्तिसँगै श्रमिक वर्गको उदय र मताधिकारको विस्तार भएपछि जनसमूह दलहरूको विकास भयो। यस्ता दलहरूले समाजका तल्लो तहका मानिसहरूलाई सङ्गठित गर्दै गाउँ–गाउँसम्म बलियो सङ्गठनात्मक सञ्जाल चलाउन र सदस्यता शुल्क उठाउन थाले । दोस्रो विश्वयुद्धपछि राजनीतिक प्रतिस्पर्धा तीव्र भएपछि क्याच–अल पार्टीको अवधारणा आयो । यस्ता दलहरूले आफ्नो विचारधारालाई लचिलो बनाए ताकि समाजका धनी, गरिब, मजदुर र उद्योगपति सबै वर्गका मानिसहरूलाई आकर्षित गरेर बढी भन्दा बढी जनमत प्राप्त गर्न सकियोस् ।
२० औं शताब्दीको उत्तराद्र्धमा सञ्चार माध्यम र प्रविधिको विकाससँगै दलहरू कार्यकर्ताको भरमा मात्र नभई व्यावसायिक विशेषज्ञहरूको सहयोगमा चल्न थाले। चुनाव जित्नका लागि विज्ञापन एजेन्सी, राजनीतिक सल्लाहकार र डाटा विश्लेषकहरूको प्रयोग हुन थाल्यो र विचारधारा भन्दा पनि चुनावी रणनीति र नेतृत्वको व्यक्तिगत छवि बढी महत्त्वपूर्ण बन्यो । २१ औं शताब्दीमा आइपुग्दा प्रमुख दलहरू मिलेर राज्यको स्रोतसाधनमा एकाधिकार जमाउने काटेल स्वरूप र भौतिक सङ्गठन भन्दा बढी इन्टरनेट एवं मोबाइल एप मार्फत सञ्चालित डिजिटल दलहरूको उदय हुन थाल्यो ।
समग्रमा इतिहासको यो विकासक्रमले के स्पष्ट पार्छ भने राजनीतिक दलहरू समयको गतिसँगै सीमित व्यक्तिहरूको समूहबाट सुरु भएर आजको प्रविधिमैत्री र व्यापक जनसहभागिता मूलक संस्थाका रूपमा विकसित भएका छन्। हिजोको परम्परागत राजनीतिक ढाँचा अब पूर्ण रूपमा आधुनिक, छिटो र छरितो संयन्त्रमा रूपान्तरण भइसकेको छ । यस रूपान्तरणले दलहरूलाई आफ्नो कार्यशैली र संरचनामा व्यापक सुधार गर्दै नागरिकका समसामयिक चाहनाहरूलाई सम्बोधन गर्न सक्ने गतिशील संस्थाका रूपमा स्थापित हुन उत्प्रेरित गरिरहेको छ ।
डिजिटल प्रविधि र नवराजनीतिक क्रान्ति
राजनीतिक दलहरूको विकासक्रम समयको गतिसँगै रूपान्तरणको जगमा अघि बढेकाले अब यो फेरि पुरानो वा परम्परागत अवस्थामा फर्कन सक्दैन। यो रूपान्तरण राजनीतिक विकासको इतिहासमा एउटा अपरिवर्तनीय निरन्तरता हो। यसै क्रममा नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय प्रविधिको तीव्र विकाससँगै जन्मिएको एउटा स्पष्ट क्रमभङ्गता र नयाँ राजनीतिक विकास हो। यो प्रवृत्ति केवल नेपालमा मात्र सीमित छैन छिमेकी मुलुक भारतलगायत विश्वका अन्य अनेकौं देशहरूमा पनि राजनीतिक दलहरूको उदय, संगठन र सञ्चालन पद्धतिमा आधुनिक प्रविधि र संचार माध्यमको गहिरो प्रभाव पर्दै गइरहेको छ ।
यसरी प्रविधिको जगमा जन्मिएका दलहरूले अब पुरानो सांगठनिक ढाँचामा भन्दा पनि विमर्शात्मक राजनीति र प्रत्यक्ष लोकतन्त्रको वकालतमा जोड दिन्छन् । इन्टरनेट र सामाजिक सञ्जालको अधिकतम प्रयोगका कारण आम जनतासँगको छलफल, अन्तक्र्रिया र निर्णय प्रक्रियाहरू सामाजिक सञ्जालका डिजिटल माध्यमबाटै सोझै हुन थालेका छन् । परम्परागत रूपमा वर्षौसम्म संगठन निर्माण गरेर नेतृत्व स्थापित हुने परिपाटीलाई विस्थापित गर्दै अब सामाजिक सञ्जालको रेटिङ, एल्गोरिदम र लोकप्रियताका आधारमा नयाँ नेतृत्वको उदय हुन थालेको छ ।
यस नयाँ डिजिटल युगमा नयाँ दल र नेतृत्वका लागि जति ठूला अवसरहरू छन्, उत्तिकै गम्भीर चुनौतीहरू पनि थपिएका छन् । मिडियाको यो युगमा कुनै पनि नयाँ नेतृत्व एउटै प्रभावशाली एवं भाइरल अन्तर्वार्ताका भरमा रातारात स्थापित हुनसक्छ भने अर्कोतर्फ सानो गल्ती वा एउटा मात्र गलत अभिव्यक्तिका कारण सोही गतिमा सधैका लागि समाप्त हुन पनि सक्छ । त्यसैले सामाजिक सञ्जालको यस युगमा जन्मिएका दल र नेतृत्वले यसको अल्गोरिदम र संवेदनशीलतालाई बुझेर आफू कहाँ के बोल्ने, के पोस्ट गर्ने र के नगर्ने भन्ने विषयमा सधै अत्यन्तै सचेत र जिम्मेवार रहनुपर्ने देखिन्छ ।
नेपालमा सात दशक भन्दा लामो लोकतान्त्रिक अभ्यासका क्रममा विभिन्न अमूर्त राजनीतिक विचारधारा र दर्शनहरूको परीक्षण भइसकेको छ । राजनीतिक दलहरूले उदारवाद, साम्यवाद, समाजवाद, पहिचान र परम्परावादका नाममा अनेकौ आन्दोलन र क्रान्तिहरू सम्पन्न गरेर व्यवस्था परिवर्तन त ल्याए, तर आम नागरिकको दैनिक जीवनमा भने अपेक्षित रूपान्तरण हुन सकेन । आजको नेपाली समाजले कुनै जड सूत्रवादी ुवादु वा दलहरूको दलीय हठ भन्दा पनि आफ्ना मौलिक समस्याहरूको व्यावहारिक समाधान खोजिरहेको छ। वर्षौदेखि राजनीतिक सिद्धान्तको नाममा हुने गरेका आन्तरिक कलह र सत्ताको खिचातानीले मुलुकको आर्थिक तथा सामाजिक विकासलाई सधै ओझेलमा पारिदियो।
त्यसैले, वर्तमान अवस्थामा नेपालको वास्तविक आवश्यकता कुनै आयातित विचारधाराको अन्धअनुकरण गर्नु होइन, बरु देशको विशिष्ट भौगोलिक, सामाजिक र आर्थिक परिवेश अनुकूलको ‘नेपाली राजनीति’ को विकास गर्नु हो । अबको राजनीति कुनै दर्शनको रक्षाका लागि मात्र होइन, बरु शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र द्रुत सेवा प्रवाह जस्ता नागरिकका आधारभूत आवश्यकता पूरा गर्न केन्द्रित हुनुपर्छ।
युवा पुस्ताको बढ्दो प्रविधिमैत्री चेतना र विज्ञतालाई राज्य सञ्चालनको मूल प्रवाहमा जोड्दै मुलुकभित्रै अवसरहरूको सिर्जना गर्नु नै आजको मुख्य कार्यभार हो। वैचारिक कसिमा मात्र अल्झिने पुरानो परिपाटीलाई त्यागेर देशको विकास र समृद्धिको ठोस कार्ययोजना सहित परिणाममुखी मार्गमा अघि बढ्नु नै वर्तमान नेपालको वास्तविक र अनिवार्य आवश्यकता हो।
समग्रमा, राजनीतिक दलहरूको ऐतिहासिक विकासक्रमले यो पुष्टि गर्छ कि दलीय व्यवस्था समयको माग र प्रविधिको रफ्तारसँगै निरन्तर परिवर्तनशील छ । प्राचीन कालका अस्थायी गुटहरू, बेलायतको गौरवमय क्रान्ति, फ्रान्सेली राज्यक्रान्तिको वैचारिक ध्रुवीकरण र औद्योगिक क्रान्तिको जनसमूह हुँदै आधुनिक दलहरू आज डिजिटल युगमा प्रवेश गरेका छन् । विचार र सिद्धान्तको संकुचित घेरा भन्दा माथि उठेर सुशासन, प्रविधिको प्रयोग र तीव्र विकासलाई प्राथमिकता दिने यो नयाँ क्रान्तिले विश्वभर नै नागरिक र दलहरू बीचको सम्बन्धलाई थप प्रत्यक्ष, पारदर्शी र उत्तरदायी बनाएको छ। डिजिटल युगको यो रूपान्तरण नै समकालीन राजनीतिको वास्तविक र अपरिवर्तनीय पहिचान हो ।
गणेश अम्गाई
